प्रदेश ७ः संसदीय दलको नेता छान्न सकस, ३ वटै दलबाट यी हुन आकांक्षी

प्रकाशित मिति : बुधबार, माघ २४, २०७४

धनगढी
प्रदेशसभामा संसदीय दलको नेता छान्न दलहरूलाई निकै सकस भएको छ । प्रदेश ७ मा सबैभन्दा ठूलो दल एमाले, दोस्रो ठूलो दल माओवादी र तेस्रो ठुलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्न एक भन्दा बढी इच्छुक देखिएका छन् ।

प्रदेशसभाको पहिलो बैठक अघि नै सबै दलको संसदीय दल बैठक बसे पनि कसैले पनि नेता छान्न सकेनन् । संसदीय दलको नेता छान्न नसकेपछि प्रदेशसभाको पहिलो बैठकमा आफ्नो दलका तर्फबाट बोल्ने नेताको नाम टुंगो लगाउदै बैठक सम्पन्न भएका थिए ।

एमाले, कांग्रेस र माओवादी केन्द्रले संसदीय दलको नेतामा दाबी भएका सदस्य मध्ये प्रदेशसभाको पहिलो बैठकमा मन्तव्य दिन लगाएका थिए । एमालेका तर्फबाट पार्टीका केन्द्रीय सदस्य तथा बाजुराका प्रदेशसभा सदस्य प्रकाश शाहले मन्तव्य राखेका थिए ।

कांग्रेसबाट डोटीका प्रदेशसभा सदस्य भरतबहादुर खड्का र माओवादी केन्द्रबाट पोलिटब्यूरो सदस्य डोटीका प्रदेशसभा सदस्य त्रिलोचन भट्टले मन्तव्य राखेका थिए । राजपाबाट कैलालीका प्रदेशसभा सदस्य मालमती रानाले मन्तव्य राखेकी थिइन् ।
नागरिकबाट