अपि हिमालमा सबै विद्यार्थीको स्वास्थ्य चेकजाँच अनिवार्य, छात्राहरुको लागि निशुल्क प्याड र साबुन

प्रकाशित मिति : सोमवार, चैत्र ५, २०७४

लोकेन्द्र प्रशाद जोशी दार्चुला ।

दार्चुलाको अपिहिमाल गाउँपालिकाले गाउँपालीकाभित्रका सबै विद्यार्थीको स्वास्थ्य चेकजाँच अनिवार्य गरेको छ । हरेक विद्यालयमा स्वास्थ्य शिबिरमार्फत त्रैमासिक रुपमा विद्यार्थीको अनिवार्य नियमित स्वास्थ्य चेकजाँच गरिने भएको हो ।

गाउँपालिको शिक्षा क्षेत्र सुधार कार्यक्रम र विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमको विधिवत उद्घाटन गर्दै गाउँपालीका अध्यक्ष धर्मानन्द मन्यालले हरेक विद्यार्थीको नियमित स्वास्थ्य चेकजाँच अनिवार्य हुने बताउँनुभएको हो । विद्यालयको पहिलो आवश्यकत्ता भनेकै स्वास्थ्य भएको उल्लेख गर्दै स्वस्थ व्यक्ति उत्पादन पछि मात्रै गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिने मन्यालले बताए ।

स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन हरेक वडाहरुमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष उर्मीला बोहराले बताए । आमा स्वास्थ्य भए मात्रै बच्चा स्वस्थ्य जन्मिने भएकाले मातृ स्वास्थ्यलाई ध्यानमा राख्दै बर्थिङ सेन्टर स्थापना गरिएको उपाध्यक्ष बोहराले बताए ।

यसैगरी कक्षा ६ भन्दा माथि अध्ययनरत छात्राहरुको लागि विद्यालयमा निशुल्क प्याड र सरसफाईको लागि साबुनको व्यवस्था समेत गरिएको गाउँपालीकाले जनाएको छ ।

अपिहिमालको गाउँसभाले गर्यो अपि स्वयंसेवक दस्ता गठनको निर्णय

दार्चुलाको अपि हिमाल गाउँपालिकाको हिउँदे अधिवेशनबाट स्थानीय सरकार सञ्चालन ऐनहरु धमाधम पारित हुदैछन् ।

गाउँपालिकाको अद्र्दबार्षिक समीक्षा गर्दै चैत्र २ गतेबाट शुरु भएको हिउँदे अधिवेशनबाट गाउँपालिकाले ऐनहरु पारित शुरु गरेको हो । यस आर्थिक वर्षमा कार्यान्वयनमा रहेका योजनाहरुको समीक्षा गर्दा पालिकाले हालसम्म ६० प्रतिशत बढि योजना कार्यान्वयन गरिसकेको गाउँपालिका अध्यक्ष धर्मानन्दसिह मन्यालले बताउनुभयो ।

आइतबार भएको गाउँपालिका सभाले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत रहेर स्थानीय शिक्षा ऐन २०७४ लाई सर्वसम्मत पारित गरेको छ । ऐनले अब पाँच वर्षभित्र शिक्षकहरुको सरुवा गर्ने, गाउँपालिका भित्र शिक्षा क्षेत्र हेर्ने गरी शिक्षा अधिकारी राख्ने लगायतका महत्वपूर्ण ऐन पारित गरेको छ ।

शिक्षा ऐनले गाउँपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति विघटन गरेको छ भने ऐन पारित भएको ४५ दिन भित्र नयाँ व्यवस्थापन समिति गठन गरिसक्नुपर्ने उल्लेख गरिएको अध्यक्ष मन्यालले बताउँनुभयो ।

यसैगरी अपि हिमाल गाउँपालिकाले अपि स्वयंसेवक दस्ता गठन गर्ने अपि स्वयंसेवक नियमावली २०७४ पारित गरेको छ । गाउँपालिकामा हुने सामाजिक कार्यमा संग्लन गराउने गरी स्वयंसेवक दस्ता निर्माण गरिन लागेको अध्यक्ष मन्यालले बताउनुभयो । नगर प्रहरीको अवधारणा अन्तर्गत अपि स्वयंसेवक दस्ता गठन गर्ने बाटो खुला भएको छ ।

नियमावलीले गाउँपालिका भित्र पाँच तहको स्वयंसेवक रहने अवधारणा पारित गरेको छ । जसअनुसार प्रमुख स्वयंसेवक, बरिष्ठ स्वयंसेवक, सह स्वयंसेवक, उपस्वयंसेवक र स्वयसेवक नियुक्त गरिनेछ । जसमा हाललाई ५८ जनाको दरबन्दी सिर्जना गरिएको छ ।

गाउँ सभाले बहुमतका साथ पारित गरेको दुइ वटा ऐन र नियमावलीले अब केहि हदसम्म काम गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत जयसिह धामीले बताउनुभयो ।