टिकापुर काण्डमा बाबु गुमाएकि वसन्तीको प्रधानमन्त्रीलाई आँशुले लेखेको पत्र

प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०७४

सम्माननीय प्रधानमन्त्री ज्यु,
नेपाल सरकार, मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं ।

प्रधानमन्त्री ज्यू ! सर्वप्रथम अत्यधिक बहुमतले प्रधानमन्त्री हुनुभएकोमा बधाई छ । आज तपाई प्रधानमन्त्री भएको करिव एक महिनापछि हामी चार भाईबहिनी तपाईंलाई एउटा घटना स्मरण गराउन चाहान्छौं । तपाईले पत्रपत्रिकाबाट पक्कै पनि खबर सुन्नुभएको हुनुपर्छ, २०७२ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित ५ जना प्रहरी र २ जना सशस्त्र प्रहरीको हत्या भएको थियो ।

त्यही घटनामा एकजना डेढ वर्षे नाबालकले समेत अकालमा ज्यान गुमाउनु पर्यो । त्यहाँ हामीलाई संसार देखाउने, धेरै माया गर्नुहुने हाम्रा बाबा प्रहरी निरीक्षक बलराम विष्टको पनि हत्या गरिएको थियो, सोही घटनामा । हामीलाई राजनीति र यस्ता अरूकुराबारे केही थाहा थिएन पहिले । अहिले पनि त्यसबारे ज्यादातर चासो राख्दैनौँ ।

जब कर्तव्यपालनका सिलसिलामा अपराधिक समूहद्वारा प्रहरीको निर्मम हत्या गरियो, हाम्री आमाको सिन्दुर पुछियो र हामीलाई टुहुरा बनाइयो । हामी यति विक्षिप्त भयौँ कि कयौँ दिनसम्म हामीलाई केहीथाहा भएन, के भइरहेको छ ? भनौँ न हामी अँध्यारो सुरुङभित्र पसेझैँ भयौँ । केही पनि देखेनौँ, अगाडिको बाटो । निकैपछि मात्रै थाहा भयो– हाम्रा बुबालाई आन्दोलनकारीले हत्या गरेका रहेछन्, उहाँका सहकर्मीहरुसँगै । देश र जनताको सुरक्षामा खटिएका प्रहरीलाई भाला बञ्चरोले हानेर मारे । त कतिलाइ जिउँदै जलाइयो भनेर सुनेपछि उत्पन्न मुटुको जलन अहिलेसम्म सेलाएको छैन ।

त्यतिबेला सरकार र सबै पक्षबाट धेरै सान्त्वना प्राप्त भयो । हामीलाई टुहुरा बनाउने अपराधीहरूलाई कारवाही हुने र उनीहरू जेल जाने भएपछि राहत मिलेको अनुभूत भएको थियो हामीलाई । त्यो अपराधमा संलग्नहरूको नाम समेत खुलेपछि र घटनामा संलग्न केहिपक्राउ परेपछि हामीमा आशा अङ्कुरण भएकै हो, ढिलोचाँडो न्याय पाउँछौँ भनेर ।

पिताको आत्माले शान्ति पाउने भयो अब भन्ने भयो । तर हाम्रो आशा सत्य सावित कहाँ हुन्थ्यो र ! अभियुक्तहरूमध्ये धेरै जना पक्राउ नै परेनन् । त्यसपछि बनेका सबै प्रधानमन्त्रीले उनीहरूलाई कारवाही गरेर न्याय दिलाउने आश्वासन त बाँडे । तर अदालतको कठघरामा उभ्याउनुको सट्टा कसैले भारतमा लुकेर बसेका मुख्य अभियुक्तलाई नै सार्वजनिक स्थलमै भेटेर हाम्रो घाउँमा नुनचूक दले ।

हामीले समाचारमा सुनेका छौँ र छानबिन समितिले छानबिन गरे अनुसार हाम्रा पितालाई मार्न मुख्य योजना बनाउने मध्येको प्रमुख मान्छेले तपाईंले जस्तै भोट पाएर चुनाव जितेको छ रे ! त्यसरी घरघर भोट माग्न जाँदापनि पुलिसले किन पक्राउ गरेन ? आज हामी यो मात्र हैन हामी धेरै प्रश्न गर्न चाहन्छौँ तपाईंलाई । अनि त्यसरी अभियुक्त मान्छेलाई बचाउन किन खोजिरहनुभएको छ ? उसलाई पनि सरकारको मन्त्री बनाउन खोज्नुभएको हो कि ? अपराधीलाई सांसद् बनाएर कस्तो सुशासनको वकालत गर्दै हुनुहुन्छ तपाईं ?

प्रधानमन्त्री ज्यू ! हामी हाम्रो पिता नभएको परिवारमा कसरी बसेका छौँ ?? बुबा नहुनेले समाजले हामीलाई हेर्ने नजर कस्तो छ यो तपाईं सोच्न पनि सक्नुहुन्न । तपाई या अरू कसैले पनि हाम्रा दिवंगत पिता फिर्ता ल्याइदिन त सक्नुहुन्न तर हामीलाई टुहुरो बनाउने ती अपराधीहरूलाई सजाय दिएर हामीलाई न्याय दिन त सक्न सक्नुहुन्छ नि ।

हामी पिता गुमाएको पीडा त कसरी भुल्न सक्थ्यौं र ? तैपनि ती अपराधीहरूलाई सजाय भयो भने कम्तीमा न्याय मिलेको महसुस त हुनेथियो । र भोलि फेरि हामीजस्तै असहाय बालबालिकाहरूलाई कसैले टुहुरा बनाउने धृष्टता त गर्न सक्दैनथ्यो नि उसले । सरकारले हत्या आरोपमा खोजी गरिरहेको मान्छेलाई राजनीतिको आवरणमा जोगाएर कसैले उसलाई जोगाउन चाहान्छ भने भगवानले उसलाई कहिल्यै माफ गर्ने छैनन् ।

अझै पनि न्यायको आशा छ । त्यो नरसंहारको एकजना मुख्य अभियुक्त अझै पनि पुर्पक्षका लागि थुनामा छ रे । कुनैपनि बाहानामा उसलाई उन्मुक्ति दिनु भनेको हामीलाई थप अन्याय गर्नु हो । यसरी पीडितको घाउँमा नुनचुक लगाउनुले हामीले राज्यबाट के आशा गर्ने प्रधानमन्त्रीज्यू ?

सम्माननीय प्रधानमन्त्रीज्यू ! हाम्रा निर्दोष बुबाको छातीमा भाला र गोली प्रहार गर्ने÷गर्न लगाउने लाई कारवाही भएन भने पीडित परिवारमाथि घोर अन्याय हुनेछ । हामी न त आरामले सुत्न सक्ने छौँ न त मनमा शान्ति नै हुनेछ । न्याय पाइएन भने शायद टीकापुर घटनाको नियति दोहरिनेछ र हामी जस्तै अरूले पनि टुहुरो हुनु पर्नेछ । टीकापुर घटनाका मुख्य योजनाकारको आरोपमा पुर्पक्षका लागि जेलमा रहेको व्यक्तिलाई जेलभित्रै शपथ खुवाउने सरकारको आश्वासन र अनसन टुटाउन गृहमन्त्रीज्यूले जुस पिलाउँदा हामी विष पिए सरह प्रताडित छौँ ।

हामी निराश मात्र हैन प्रधानमन्त्रीज्यू, लज्जित पनि भएका छौँ । राज्यले हामी पीडितभन्दा बढी क्षतिपूर्ति पनि त्यही पीडकले पाएको छ भन्ने पनि शायद यहाँलाई अवगत नै छ होला । सान्तवना, संरक्षण, राज्यको स्नेह पनि पीडकले पीडितभन्दा बढी पाएको छ । यही थिति बसाल्ने हो र यसैका लागि तपाईंको आफ्नो पनि आजन्म संघर्ष थियो भने हामी असहायको भन्नु केही छैन ।

अहिले अपराधीका गोहीका आँसु र उसको राजनीतिको पाखण्डले तपाईं गल्नुहुन्छ भने तपाईंको अभिवावकत्वमा रहेको राज्यले के अनभूति गर्ने ? अपराधीहरुले हामीबाट हाम्रा बुवा गुमाएको लामो समय भईसक्दा पनि चौबिसै घण्टा आँसुु बगाइरहेका छौँ, हामीले के आशा गर्ने ? हाम्रो आँसुको पनि मूल्य छ र निष्ठा–नैतिकताको पनि स्थान हुन्छ भने तुरुन्तै टीकापुर घटनाको योजना बुन्ने र हाम्रा पिताको विभत्स हत्या गर्नेलाई आजन्म कारावासको सजाय होस् ।

प्रधानमन्त्र ज्यू यो पत्र तपाईसम्म त पुग्छ–पुग्दैन । हामी राजनीति र समाचार जान्ने÷बुझ्ने अवस्थाका पनि छैनौँ । यी शब्दहरु हाम्रा आँसु आशा दुवै हुन् । सम्माननीयज्यूलाई हामी धन्यवाद भनेर यसरी नै पत्र लेख्नेछौँ, जुन दिन हामी न्याय पाएको अनुभुति गर्नेछौँ । धन्यवाद ।

स्वर्गीय पिताको स्मृति र न्यायको आशमा रहेकी छोरी
वसन्ती विष्ट

Kendrabindu.com