भिमदत्त नगरपालिकाबाटै प्रदेश ७ समृद्ध बन्दः नगरप्रमुख सुरेन्द्र विष्ट (भिडियोसहित)

प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०७४

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका प्रदेश ७ को उत्कृष्ट घोषित भएको छ । केही वर्ष पहिले न्युनतम शर्त मापनमा समेत फेल भएको नगरपालिका स्थानीय जनप्रतिनिधिको हातमा आएसँगै मुहार फेरिदैं गएको छ । यसैविषयमा केन्द्रीय रहेर भिमदत्त नगरका प्रमुख सुरेन्द्र बिष्टसँग कृष्णसिंह धामीले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको अन्तर्वाताः

१. कञ्चनपुरको भिमदत्त नगरपालिका प्रदेश ७ को उत्कृष्ट नगरपालिका बन्न कसरी सम्भव भयो ?
कञ्चनपुर । यो नगरपालिका सबैभन्दा प्रदेश ७ को पुरानो नगरपालिका हो । पुरानो अञ्चलको सदरमुकाम र अहिलेको जिल्ला सदरमुकाम रहेको छ । यसका साथै सबै नगरपालिका प्रतिनिधीहरु तथा कर्मचारीहरुको मेहनतले यो सम्भव भएको हो । यससँगै हामीलाई नेपाल नगरपालिका संघले सम्मान गरेको छ ।

२. केही वर्षअघि नगरपालिकाले न्यूनतम शर्त पूरा भएको थिएन् । ती दिनलाई कसरी सम्झनुहुन्छ ?
पहिले विकासको जुन गतिका साथ काम हुनुपर्ने हो त्यो भएको थिएन् । गाउँ जनप्रतिनिधीविहिन भएको थियो । कामहरुको रिर्पोटिङ हुनुपथ्र्यो त्यो हुन सकेन् । त्यसबेला कतिपय कामहरु समयमा नै हुन नसकेकाले नगरपालिकाले पाउनुपर्ने अनुदान कमी भएको हो ।
३. लामो समयदेखि जनप्रतिनिधीविहिन भएको थियो । त्यसपछि तपाई जनप्रतिनिधीमा चुनिनु भयो, यसबीच के पाउनु भयो ?
लामो समयसम्म जनप्रतिनिधीविहिन भएको अवस्थामा अन्योलता, जनताको पहुँचमा कमी, नीति कार्यक्रमको अभाव, बजेट विनियोजन, काम सम्पन्नता र गुरणस्तर जस्ता कामहरु हुन सकेको थिएन ।

दोस्रो कुरा, हिजो जुन किसिमले काम हुँदै आएको थियो अब त्यो अवस्था रहेन् । संघीय गणतान्त्रिक संविधान जारी भएपछि स्थानीय तहमा धेरै अधिकार बढेको छ । आर्थिक बजेट विनियोज हुनुभन्दा अगाडि नै वडा कार्यालयबाट आएको नीति तथा कार्ययोजनाको खाका हामीमाँझ आइपुगेको थियो । हामीले त्यसका बारेमा छलफल चलाएर एक प्रकारको खाका बनाइसकेको थियो । नीति कार्यक्रम बनाइसकेको थियो । त्यही बीचमा टेकेर हामीले जनप्रतिनिधी र नयाँ जनअपेक्षाका चाहना र माग अनुसार नयाँ आर्थिक बजेट तयार बनाउनु पथ्र्यो । त्यसका लागि हामीले पहिलो नगरसभा सम्पन गर्‍यौं । नगरसभाले नयाँ काम र कार्ययोजना बनाएको थियौँ । यसका साथै समायोज भएर आउने कर्मचारीले पनि त्यही अनुसार काम गरेका थिए । पछिल्लो समयमा हामीले यसलाई एकरुपतामा ल्याएर काम गर्न सफल भयौं ।

४. प्रदेश ७ कै उत्कृष्ट नगरपालिका घोषणा हुँदासम्म तपाईल के कस्ता समस्याहरु झेल्नु पर्‍यो ?
मैले अघि यहाँ प्रस्तुत गरेको मुख्य विषयवस्तु रहेको छ त्यही नै हो । हामीले समयमा जिल्लाको दररेट कायम गर्नुपर्ने हुन्छ । त्यो काम हुन सकेन । समयमा कर्मचारी आएका थिएनन् । विकासका लागि हामीले असोजसम्म सामान्य ग्राईभेल गर्नलाई चाहिने ढुंगा बालुवाका लागि खोलानाला बन्द भैसकेको हुन्छ । वन कार्यालयले बनको काम बन्द गरेको हुन्छ ।

नयाँ परिवेश, नयाँ काम गर्नका निम्ति कतिपय नियम कानुनको पर्खाइमा वस्नुपर्ने थियो । लामो समयमा जनप्रतिनिधीहरु नहुँदाखेरी जनताको सबै काम थाती राखिएको छ । त्यहीअनुरुप जनअपेक्षा पनि बढ्दै गएको छ । त्यो अपेक्षालाई पूरा गर्नका लागि पनि दबाद रहेको छ । यस अनुसार हामीलाई दबाब भएको छ । कतिपय कामहरु केन्द्र सरकार, कतिपय कामहरु प्रदेश सरकार तथा कतिपय कामहरु स्थानीय सरकारले गर्नुपर्ने हुन्छ । यसका लागि हामीले व्यवस्थापनका लागि समय खर्चिन पर्ने अवस्था रहेको छ ।

अर्को कुरा यो वर्ष मैले निर्वाचनको वर्ष भनेको छु । देश नै निर्वाचनमय भएको हुनाले जुन रुपले पुँजीगत खर्च हुनुपर्ने हो त्यो हुन सकेन । यो वर्ष जम्मा २७ प्रतिशत मात्र पूँजीगत खर्च भयो । जुन समस्या भिमदत्त नगरपालिकाले पनि बेहोर्नु प¥यो । यसो हुँदा पनि हामीले कर्मचारीसँग मिलेर काम गर्न सफल भयौं ।

५. भिमदत्त नगरपालिकामा विकास निर्माणका के कस्ता काम भइरहेको छन् ?
कतिपयका ठुला आयोजनाका लागि मैले केन्द्र तथा प्रदेश सरकारसँग अपेक्षा गरेको छु । यी ठुला आयोजना भिमदत्त नगरपालिकाको समृद्धि र विकासको विषय मात्र छैन । यो ७ नम्बर प्रदेशसँग सम्बन्धित रहेको छ । ७ नम्बर प्रदेशको समृद्धि भनेको यो देशको विकाससँग जोडिएको छ । जुन दीर्घकालीन महत्व राख्ने योजनाहरु छन् ।

पहिलो नगरसभाबाट आफ्नो नीति र कार्यक्रम स्पष्टका साथ आगाडि ल्याएका छौँ । हामीले पहिलो वर्ष नै हामीले सम्पन्न गर्नुपर्ने कार्यक्रम सार्वजनिक गरेका छौँ । दोस्रो हामीले पाँच वर्षको रणनीति बनाएर जाँदै छौँ । त्यही पाँच वर्षको जगमा टेकेर भिमदत्त नगरपालिका २० वर्षपछि कहाँ पुग्छ भन्ने योजना बनाएका छौँ । योजना मात्र होइन त्यसको लगानी र पूर्वाधारको क्षेत्र पनि विस्तार गरिरहेका छौँ । हामीले यो वर्ष नै सम्पादन गरेका तमाम कामहरु छन् । यो वर्ष मात्रै हामीले ७० देखि ७५ किलोमिटर त नयाँ बाटो खेलेका छौँ । कतिपय ठाउँमा विकासको काम भइरहेको छ ।

सरकारी जग्गाको संरक्षणमा लागेका छौं । भ्यूटावरको लागि काम भइरहेको छ । वडा सम्बन्धी काम वडाबाट नै भैरहेको छ । कृषिमा आधुनिकता ल्याउनुको साथै गाउँगाउँमा योग शिविर पु¥याएका छौँ । नगरपालिका आफूैं स्रोत साधनबाट चल्नुपर्छ भनेर आवश्यक पर्ने ट्रिफर किनेका छौं । शव बहानका लागि गाडी किन्न लागेका छौँ । समग्रमा हामीलाई जुन अधिकार दियो त्यही अनुरुप काम भईरहेको छ । भिमदत्त नगरपालिका एक व्यावसायीक नगरपालिका बन्दै छ । त्यसका लागि पनि हामीले योजना बनाउँदै छौँ । योसँगै हामी त्रिदेशीय सम्बन्धको केन्द्र बनाउछौँ ।

महाकाली नदीको बहुउपयोगको कुरा भइरहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई हामीले खुल्ला विश्वविद्यालयका रुपमा विकास गर्न लागिरहेका छौँ । जहाँ हामीले एकै पटक हजारौँ बाह्रसिंगे देख्न सकिन्छ । भारतमा पूर्णागिरी माताको दर्शन गरेपछि ती सबै भक्तजनले नेपालको शिद्धनाथको दर्शन गर्नुपुर्ने चलन रही आएको छ । त्यसैले धार्मिक विकासको काम गर्न लाग्दै छौँ । यहाँ विश्वविद्यालयको केन्द्रिय कार्यालय रहेको छ । यस विश्वविद्यालयलाई हामीले समय सापेक्ष सुहाउँदो बनाएर विद्यार्थीहरु आत्मनिर्भर जीवन उपयोगी शिक्षा दिनका लागि सोहीअनुसार पाठ्क्रम बनाउने उद्देश्य रहेको छ ।

हामी यस नगरपालिकालाई श्रम, सिप, प्राकृतिक स्रोत तथा साधनको प्रयोग गरेर युग सुहाउँदो बनाउछौँ । यहाँ एयरपोर्ट आवश्यक रहेको छ । यसका लागि केन्द्रीय सरकार तथा संघीय सरकारले जिम्मेवारी लिनु पर्दछ । अञ्चल अस्पतालदेखि स्वास्थ्यका क्षेत्रका लागि डाक्टरको आवश्यक रहेको छ । आवश्यक अनुसारको डाक्टर पठाउने काम संघ तथा केन्द्रिय सरकारको हो । यससँगै कतिपय कामहरु राज्यस्तरबाट गर्नुपर्ने रहेको छ । जसले भिमदत्त नगरपालिकालाई उत्कृष्ट भयो भने नेपाल नै उत्कृष्ट हुन्छ भन्ने मेरो दाबी हो ।

६. जनप्रतिनिधीहरुले जनताले चाहेअनुसारको काम गर्न सकेन भन्ने पनि छ नि ?
यो संक्रमणीय अवस्थामा नयाँ परिचालन थियो । पुरानोबाट नयाँ परिवेशमा प्रवेश गर्छ त्यसबेला केही अप्ठारा हुन्छन् केही नराम्रो असर छोड्छन् । मूलतः नयाँ युग र नयाँ नेपालमा जाँदै छौँ । पहिलो पटक शक्तिशाली जनप्रतिनिधीहरु चयन भएका छन् । आफ्नो अधिकार अनुसार काम गर्दै जाँदा केही तलमाथी हुँदा म स्वाभाविकै लिन्छु । कर्मचारी समयमा समायोजन भएन । कर्मचारीहरुले काम गर्न सकेको छैन । सिँहदरबार गाउँमा प्रवेश गरेको छैन । दरबन्दी अनुसारको कर्मचारी भएको छैन । सबैको ध्यान चुनावमा भयो । कर्मचारीहरु पनि अन्योलतामा रह्यो । अझै एक अढाई वर्ष सिँहदरबारको हालीमुहाली चलिरहन्छ । हाकिमी प्रवृति अन्त भएको छैन भन्ने मलाई लाग्छ ।

७. तपाईको भनाईलाई आधार मान्दा कर्मचारी र प्रतिनिधीमा द्वन्द्व सिर्जना भएको हो ?
द्वन्द्व सिर्जना भएको होइन । चाहे कर्मचारी वा चाहे प्रतिनिधीहरु पुरानो मानसिकतालाई छोड्नु पर्दछ तर, सकिरहेको हुँदैन । त्यही भएको हो । अब यी सबै पुराना कुरालाई छोड्नु प¥यो । संविधानलाई पालना गर्नुपर्‍यो ।

८. पछिल्लो समयमा जनप्रतिनिधीहरु विभिन्न काण्ड मच्चाउँदै आईरहेका छन्, किन हो ?
घटनाको पूर्ण रुपले छानबिन नभई यथार्थबाहिर नआउँदा दोषी नै हुन् । मूलतः गाउँमा भएको रुढीले पनि प्रतिनिधीलाई जोडिदिएको हुन्छ । समाज परिर्वतन नहुँदा खेरी कतिपय पुराना सोचहरु पुराना रुढीबादीले पनि यी समस्या आएको हुन्छन् । पहिले पनि योभन्दा ठुला घटना भएका थिए ।

घटनाहरु पुराना जडताबाट प्रभावित भएका छन् । यसबाट जनतालाई जनचेतना दिनुपर्दछ । यसका लागि हामी सबै राज्य क्षेत्र लाग्नुपर्ने बेला आएको छ । घटनालाई कुनै संस्था वा व्यक्तिसँग जोड्नु हँुदैन् । भारतमा धर्मका रुपमा अनेक घटना आइरहेको छ । त्यसो भए सबै धर्म गलत हो भन्नु गलत हो ।

यस्तो घटनाभित्र षड्यन्त्र देख्दै छु । स्थानीय तहलाई जुन अधिकार दिएको छ । त्यो अधिकार हिजो दिइयो अब त्यो अधिकार दिएपछि सिँहदरबारबाट शाषन त गर्न सकिने भएन । त्यसका लागि विस्तारै विस्तारै कानुन समयमा नदिने, कर्मचारी समयमा नदिने अन्त्यमा जनतालाई जनप्रतिनिधीहरुले केही गर्न सकेन भन्ने बनाउने र केन्द्रिकृत राज्य प्रणाली तथा पुरानै शाषन व्यवस्थामा फर्कउन सक्छ । त्यसका लागि पनि जनप्रतिनिधीलाई जोडेको हुनुपर्छ । तर, दोषीले कारबाही पाउनुपर्छ । बरु आजका जनप्रतिनिधीहरुलाई सक्षम बनाउनका निम्ति सहयोग गर्नुपर्‍यो ।