निमोनिया लाग्नबाट बच्न यस्ताे गर्नुहाेस्

प्रकाशित मिति : सोमवार, कार्तिक २६, २०७५

काठमाडाैं । चिकित्सकहरूले निमोनिया रोग लाग्न नदिन बालबालिकालाई पर्याप्त स्तनपान गराउन सचेत गराएका छन्।

चिकित्सकहरूले निमोनिया विरुद्धको खोप बालबालिकालाई नियमित लगाउन सके निमोनिया रोगबाट बच्न सकिने पनि स्पष्ट पारेका छन्। विश्व निमोनिया दिवसको अवसर पारेर सोमबार वरिष्ठ चिकित्सक अरुणकुमार शर्माले निमोनिया रोगबाट बालबालिकालाई बचाउन पर्याप्त स्तनपान गराउन सबैलाई सचेत गराए।

उनले यस रोगको संक्रमणबाट जोगिन घर वरपरको वातावरण स्वच्छ र सफा बनाउन विशेष ध्यान दिनुपर्ने पनि स्मरण गराए। चिकित्सकहरूले ज्वरो आउनु, छाती दुख्नु, सास फेर्न गाह्रो हुनु निमोनिया रोगको मुख्य लक्षण भएको उल्लेख गर्दै तत्काल अस्पताल गएर उपचार गर्न पनि सबैलाई आह्वान गरेका छन्।

वरिष्ठ चिकित्सक शर्माले छाती दुख्ने, सास फेर्न समस्या हुने लगायतका समस्या आउने वित्तिकै विरामीलाई अस्पतालमा लगेर उपचार गराउन पनि सबैलाई सचेत गराए। समयमै अस्पताल नपुर्‍याए निमोनियाको रोगले ज्यानै जान सक्ने चिकित्सकहरूको भनाई छ।

नोभेम्बार १२ अर्थात् आज विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व निमोनिया दिवस मनाइएको छ। विश्वमा हरेक वर्ष निमोनियाकै कारण १६ लाख मानिसको ज्यान जाने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ।

नेपाल सरकारले निमोनियाबाट हुने बाल मृत्युदरलाई रोक्न सन् २०१५ सालदेखि राष्ट्रिय खोप अभियान नै संचालन गरिरहेको छ।