नेविसंघको महाधिवेशन पुस २८ गतेदेखी

प्रकाशित मिति : मङ्लबार, मंसिर ११, २०७५

काठमाडौंः नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ।

मंगलबार बसेको नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले मिति तय गरेको हो। बैठकपछि पत्रकार सम्मेलन गरेर नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघ महाधिवेशनको कार्यतालिका बारे जानकारी गराएका हुन्।

कार्यतालिका अनुसार मंसिर २२ गतेदेखि अधिवेशनका कामहरु हुने छन्। २२ गते मावि, उमावि र सिटीइभीटी र क्याम्पसका अधिवेशन हुने छन्। मंसिर २५ मा स्थानीय तहका अधिवेशन हुनेछन्।

पुस ८ भित्र उपत्यका भित्रका क्याम्पस र विश्व विद्यालयका अधिवेशन हुनेछन्। पुस १४ भित्र ७७ वटै जिल्लाका अधिवेशन हुनेछन्। पुस २० भित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने नेविसंघले जनाएको छ। नेविसंघले दुई दिन भित्रमा सबै तहमा प्रतिनिधि पठाउने तयारी समेत गरेको छ। तोकिएको समयसम्म अधिवेशन नगर्ने जिल्ला समितिहरु स्वतह भंग हुने नेविसंघले जनाएको छ।

यसैबीच नेविसंघका महामन्त्री सरोज थापा नेतृत्वको समुहले बैठक बहिस्कार गरेको छ। बैठक प्रक्रियागत ढंगले नबोलाइएको र लहडका भरमा एक घण्टा अघि मात्रै खबर गरिएको भन्दै उनको समूहले बैठक बहिस्कार गरेको हो। उनले विधान अनुसार महामन्त्रीले बैठक बोलाउनुपर्नेमा अध्यक्षले बोलाइएको समेत बताएका छन्।

तर अध्यक्ष महरले भने आकस्मिक भएकोले आफूले बैठक बोलाएको बताएका छन्। उपाध्यक्ष रामप्रसाद अधिकारीले महाधिवेशनको विकल्प महाधिवेशन भएकाले विवाद नगर्न आग्रह गरे।