गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिमको अधिवेशनबाट कार्यसमिति चयन

प्रकाशित मिति : बुधबार, मंसिर १२, २०७५

दार्चुला । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन डोटीको बुडरमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको अधिवेशनले अध्यक्षमा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा मालिकार्जुन गाउँपालिका दार्चुलाका उपाध्यक्ष पुष्पा अवस्थी तथा गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी सचिव पदमा निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा रामारोशनका अछामका सरस्वती रावल र सहसचिवमा छेडेदह बाजुराका कुन्ती साउँद बुढा चयन भएका छन् । अध्यक्ष र उपाध्यक्ष तत्कालिन नेकपा एमालेबाट निर्वाचित, सचिव र सहसचिव नेपाली कांग्रेसबाट निर्वा्चित र कोषाध्यक्ष तत्कालिन नेकपा माओवादीबाट निर्वाचित गाउँपालिकाका जनप्रतिनिधी समेत हुन् ।
स्थानीय तहको अर्काे निर्वाचन नभएसम्म कार्यकाल रहने गरी महासंघको प्रदेश स्तरीय नयाँ कार्य समिति चयन भएको हो । महासंघको प्रथम अधिवेशनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार उद्घाटन गरेका थिए ।