पतिपत्नी बीचकाे सम्बन्ध विच्छेदका कारण बालबालिका समस्यामा

प्रकाशित मिति : शुक्रबार, मंसिर १४, २०७५

दार्चुला । जिल्ला अदालत दार्चुलामा तीन दिनमा ३५ बर्ष मुनीका चार जना पुरुषले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गरेका छन् । गत वर्षसम्म कुनै पनि पुरुषले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता नगराएको भएपनि नयाँ मुलुकी संहिता लागू भएपछि पुरुषले समेत मुद्धा दर्ता गर्न थालेका हुन् ।
जिल्ला अदालतमा आएर मुद्धा दर्ता गराउनेमा वैदेशिक रोजगारीबाट घर फर्किएका पुरुष बढी छन् । एक जना काठमाण्डौमा गैरसरकारी संस्थामा कार्यरत पुरुष रहेको जिल्ला अदालत दार्चुलाका डिठ्ठा लक्ष्मीदत्त पन्तले जानकारी दिनुभयो । महाकाली नगरपालिकाका दुई, मालिकार्जुन गाउँपालिकाका एक तथा दुहुँ गाउँपालिकाका एक जना पुरुषले सोमबारदेखी बुधबारसम्म सम्बन्ध बिच्छेदकालागी मुद्धा दर्ता गराएको अदालतले जनाएको छ ।
तीन चारवर्ष बैदेशिक रोजगारीमा गएर घर फर्किएपछि पति पत्नी बीच सम्बन्ध विग्रिएर मुद्धा दर्ता गर्नसम्म पुग्ने गरेको पाइएको छ । पति बैदेशिक रोजगारीमा जाने र पत्नी बालबच्चा पढाउन सदरमुकाममा बस्ने गर्दछन् । बजारको फेसन, समाजिक सञ्जालको पढ्दो प्रयोग, रहनसहनले परिवर्तन खोज्दा सम्बन्ध बिग्रने गरेको कानुन व्यावसायी धिरेन्द्र साउँदको भनाइ छ । भदौ १ गतेदेखी लागू भएको मुलूकी ऐनको परिच्छेद ३ को धारा ९४ मा पतिले पनि सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान राखेपछि पुरुषले समेत मुद्धा दर्ता गराउन थालेका हुन् । पतिपत्नी बीच हुने सम्बन्ध विच्छेदका कारण बालबालिका भने समस्यामा पर्ने साउँदले बताउँनुभयो ।
गत आर्थिक वर्षमा १४ थान मुद्धा सम्बन्ध विच्छेदका परेका थिए । जसमा चार थान मुद्धा जिम्मेवारी सरी आएका छन् । यस आर्थिक वर्षको भदौ यता मात्रै १२ थान सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको अदालतका डिठ्ठा पन्तले बतानुभयो ।