भीमदत्त नगरपालिकाको साप्ताहिक कार्यक्रम, ब्रहमदेव बजारमा सरसफाई कार्यक्रम

प्रकाशित मिति : शनिबार, मंसिर १५, २०७५

महेन्द्रगर, १५ मंसिर । भीमदत्त नगरपालिका वडा नं. ९ ब्रह्मदेब बजारमा सरसफाई गरिएको छ । समुदाय प्रहरी पालिका समिति भीमदत्त नगरपालिकाकाको साप्ताहिक बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम अन्तर्गत शनिबार ब्रह्मदेब बजारमा सफाई गरिएको हो । ब्रह्मदेब बजारस्थित सिद्धनाथ मन्दिरको प्राङ्गणबाट सुरु गरी बजारका विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ ।

कार्यक्रममा पालिका समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, भीनपा नगर उप प्रमुख सुशिला चन्द सिह, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायत, नगर प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. ९ का वडा अध्यक्ष राम नाथ, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा सहित जनप्रतिनिधि, विद्यार्थी, स्थानीय सहभागी भएका छन् ।

भीमदत्त नगरलाई ग्रिन सिटी क्लिन सिटी बनाउने कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रमा साप्ताहिक रुपमा बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ । बजार क्षेत्रमा सरसफाई कार्यक्रमपछि भीमदत्त चोकमा कार्यक्रम समापन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख चन्दले कार्यक्रम समापन गर्दै सरसफाई अभियानमा सहभागी सबैलाई धन्यवाद दिइन् ।

‘यो कार्यक्रम हरेक हप्ता शनिबार सञ्चालन गर्दै आएका छौ, आज ब्रह्मदेबमा गरिएको छ, यसले यहाँका स्थानीयलाई फाइदा पुग्छ’ नगर उप प्रमुख चन्दले भनिन्, ‘यो कार्यक्रममा आएर सबैले सहयोग गर्नुभयो, यसका लागि भीमदत्त नगरपालिका कार्यालयको तर्फबाट धन्यवाद दिन चाहन्छु, र आगामी दिनमा सबैको साथ र सहयोग हुने आशा राखेका छौ ।’ ब्रह्मदेबको सिद्धनाथ मन्दिरमा बर्सेनी हजारौ दर्शनार्थी आउने भएकाले ब्रह्मदेब बजारलाई सफा र स्वच्छ राख्न आवश्यक भएको उल्लेख गदैै नगर उप प्रमुख चन्दले आफ्नो घरजस्तै सफा राख्नु पर्ने बताइन् ।

सरसफाई कार्यक्रममा सिद्धनाथ मन्दिर संरक्षण, प्रगति युथ क्लब, स्टेप क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका संस्थाले ऐक्यवद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कडायतले नगरपालिका र प्रहरी दुबैले सरसफाई कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रहरी उपरीक्षक कडायतले जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालनपछि वडा स्तरमा कार्यक्रम सञ्चालन हुन लागेको बताए । भीनपा कार्यालयका वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापन उप शाखाका प्रमुख पुष्पराज भट्टले आगामी शनिबार भीनपा ८ तिलाचौरमा सरसफाई कार्यक्रम गरिने जानकारी दिए ।