नौगाडमा दुई दिने एकिकृत घुम्ती शिविर

प्रकाशित मिति : शनिबार, मंसिर २२, २०७५

जिल्ला प्रशासन कार्यालय दार्चुलाले नौगाड गाउँपालिकाको संयोजनमा शनिबारदेखी दुई दिने एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा शनिबार बिहानदेखी एकीकृत घुम्ती सेवा शिविरको सुरुवात भएको हो ।

जिल्ला सदरमुकाम पुगेर नागरीकता लिन नसक्नेहरुको सहजताकालागी नौगाड गाउँपालिकाको संयोजनमा घुम्ती सिबिर सञ्चालन गरीएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो । अरुले लाखौ खर्चेर रमाइलोकालागी मेला महोत्सबहरुको आयोजना गरीरहेको बेला जनताहरुको माग र आवश्यकताको आधारमा घुम्ती सिबिरको आयोजना गरीएको अध्यक्ष धामीको भनाइ छ ।

सिबिरको पहिलो दिन झण्डै एक सय जनाको नागरिकता र फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएको छ । यस्तै गाउँपालिकाका बिभिन्न स्थानका दुई सय स्थानियको स्वास्थ्य परिक्षण भएको उहाँले बताउँनुभयो । सिबिरबाट आइतबार समेत सेवा सञ्चालन हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउँनुभयो ।

टोलीमा प्रमुख जिल्ला अधिकारी आचार्य सहित सुरक्षा निकायका प्रमुख, बिभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य परिक्षणकालागी जिल्ला अस्पताल दार्चुलाका डाक्टर अनिल सिह बडाल र नेपाली सेनाका प्राबिधिक उपसेनानी डाक्टर साजन महर्जनको सहभागिता रहेको थियो । गाउँपालिकाका जनप्रतिनिधिकासाथै ४ सय बढी स्थानियको सिबिर स्थानमा उपस्थिति रहेको अध्यक्ष धामीले बताउँनुभयो ।