दस वर्षमा ३२ किलोमिटर ट्रयाक मात्रै

प्रकाशित मिति : आइतवार, माघ ६, २०७५

दार्चुला । चालु आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०६५÷०६६ बाट शुरु भएको दार्चुला तिकंर सडकको ३२ किलोमिटर ट्रयाक खुलेको छ । छिमेकी राष्ट्र चीनको सिमाना जोडिने तिंकरसम्म झण्डै १ सय ३५ किलोमिटर सडक निर्माण गर्ने लक्ष्यका साथ १० बर्ष पहिले निर्माण कार्य शुरु भएको सडक सुस्त गतिमा निर्माण भइरहेको हो ।

पहिलो गुरुयोजना अनुसार चालु आर्थिक वर्षभित्र तिकंरसम्म सडक निर्माण सम्पन्न गर्नुपर्ने हो । तर भगौलीक कठिनाइ, ठेकेदारको ढिलासुस्ती, बिष्पोटक पदार्थको अभाब र राजनीतिक सक्रियताको अभाब लगायत कारणले अहिलेसम्म ३२ किलोमिटर सडकको मात्रै ट्रयाक खुलेको छ । झन पछिल्लो समय दार्चुला तिकंर सडकलाइ महाकाली करिडोरमा गाभिएपछि सडक निर्माणमा ढीलाइ हुने अनुमान गरिएको ब्यासका स्थानीय दिपक खातीको भनाइ छ । नेपाल सरकारले कञ्चनपुरको ब्रह्मदेदेखि दार्चुलासम्म कुल २९१ किलोमिटर लम्बाइ रहेको महाकाली कोरीडोर २०७९ सालसम्म निर्माण गरीसक्ने लक्ष्य लिएको सूचना अधिकारी दिनेश रैखोलाले जानकारी दिनुभयो ।

बिगत तीन बर्षदेखी बिष्पोटक पदार्थ अभाबमा कछुवा गतिमा निर्माण भइरहेको दार्चुला तिकंर सडकमा सात महिना अघि गत असार १० गते बझाङ जिल्लाको कालांङगाड जलविद्युत् आयोजनाबाट विष्फोटक पदार्थ सापटी ल्याएर हाल सडक निर्माणको काम भइरहेको छ । केहि दिन अघि मात्रै दुहु क्षेत्रमा पर्ने विजयपूरभीरको ट्याक खुलेसँगै सडक व्यास गाउँपालिका वडा नम्बर ६ हुती पुगेको छ । सडकको ट्याक खुलेसँगै हुतीमा ट्याक्टर तथा मोटर साइकल पुर्याइएको हो । सडकको थोरै सुधार गर्ने वित्तिकै खलंगादेखि हुतीसम्म नियमित जीप सञ्चालन हुने अवस्थामा पुगेको व्यास गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मनोज कुवँरले बताउनुभयो ।

विजयपूरदेखि माथिल्लो क्षेत्रमा अहिले महालक्ष्मी कन्सटक्र्सनले सडक खन्ने काम गरिरहेको छ । व्यास गाउँपालिकाको सुनसेरा एक महिना भित्रै सडक पुर्याउने गरी कामको गति बढाइएको निर्माण व्यवसायी बालमुकुन्द नेपालले जानकारी दिनुभयो । थोरै धौलाकोट क्षेत्रमा सडक खन्न अप्ठ्यारो छ उहाँले भन्नुभयो, हुतीबाट धौलाकोट पुग्न झण्डै ६ किलोमिटर छ । धौलाकोटको सिलाजित भीरमा काम गर्न समस्या रहेको निर्माण व्यवसायी नेपालले बताउनुभयो । उक्त क्षेत्रको चट्टान काट्न कम्प्रेसर मेसिन मगाइएको छ ।

हुतीबाट सुनसेरा सडक पुग्न १२ किलोमिटर छ । गाउँपालिका केन्द्रसम्म मात्रै गाडी गुडाउन सकिए पनि व्यासका वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई सहज हुने ब्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउँनुभयो । व्यासको सुनसेरासम्म सडक पुपेपछि व्यास गाउँपालिकाबासीको गाडी चढ्ने सपना सकार हुने छ, स्थानीय दिपक खातीले भन्नुभयो, सडक नहुँदा महाकालीमाथि ज्यानमारा तुइनको जोखीमपुर्ण यात्रा गर्नुपरेको छ ।

साथै वडा नम्बर १ ब्यासमा बसोबास रहेका ब्यास बासीले अहिलेसम्म नेपालतर्फ सडक नहुँदा भारतीय भूमि भएर कष्टप्रद यात्रा गर्नुपरेको यसोदा तिकंरीले बताउँनुभयो । अहिलेकै गतिमा काम भए केहि बर्षपछि नेपालकै बाटो भएर जिल्ला सदरमुकाम आवतजावत गर्ने सपना साकार हुने अपेक्षा स्थानीयको छ । पछिल्लो समय स्थानीय सरकार, जनप्रतिनिधिको निरन्तर पहल र दबाबले पनि निर्माण व्यवसायीमार्फत काम गराउँन सहज भएको दार्चुला तिकंर सडक योजनाले जनाएको छ ।

तिंकर सडक योजनाका इन्जिनियर एबं सूचना अधिकारी रैखोलाका अनुसार तिंकर सडकको अहिले टेण्डर स्वीकृत भएको व्यास गाउँपालिकाको वडा नम्बर २ माल गाउँसम्म सडक पुर्याउन समस्या छैन । सुनसेराभन्दा माथि सडकको केहि ट्याक खुलाइएको छ, डोजर पुर्याउने वित्तिकै व्यासको राप्ला मालसम्मका स्थानीयले गाडी सुविधा पाउँने उहाँले बताउँनुभयो । हालसम्म खलंगादेखि राप्लाको घाटिबगडसम्मको ६० किलोमिटर क्षेत्रमा टेण्डर खोली सडक निर्माणको सम्झौता भएको योजनाले जनाएको छ ।

राप्लादेखी तिकंरसम्म नेपाली सेना मार्फत सडक निर्माण गर्नेगरी सरकारसंग पहल भइरहेको प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्नाले बताउँनुभयो ।