ओली सरकारका चर्चित र गुमनाम मन्त्रीहरु

प्रकाशित मिति : आइतवार, माघ ६, २०७५

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ११ महिना पुरा भएको छ ।

आगामी फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुग्दैछ । सरकार गठन भएदेखी नै प्रधानमन्त्री ओलीसहित केही मन्त्री विभिन्न कारणले चर्चामा रहे भने केही मन्त्री भने अहिले पनि गुमनाम छन् ।

पदमा नरहँदा पनि चर्चामा रहने वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली आफ्नो दोस्रो कार्यकालमा अहिले पनि उत्तिकै चर्चामा छन् ।

सामाजिक सुरक्षा कार्यक्रम लागु गरेर प्रशंसायुक्त चर्चामा रहेका उनी महत्वकांक्षी योजनाहरुको सपना बाँडनाले आलोचित पनि छन् ।

सार्वजनिक अभिव्यक्ति र विपक्षीप्रति असहिष्णु व्यवहारका कारण पनि उनको आलोचना हुने गरेको छ ।

आमनागरिकको प्रत्यक्ष सरोकार नरहेको मन्त्रालय सम्हालिरहेका रक्षामन्त्री ईश्वर पोखरेल निर्मला हत्या प्रकरणका सम्बन्धमा दिएको आधारहीन अभिव्यक्तिले आलोचित बने ।

सरकारमा दोस्रो ठुलो शक्तिशाली मन्त्रालय सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा सिण्डिकेट हटाउने, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघसंस्थाका पदाधिकारीको सम्पत्ति छानविन र समयमा काम नसक्ने ठेकेदारलाई कारवाही गर्ने कदम थालेबाट शुरुमा चर्चामा रहे ।

तर कार्यान्वयन फिलतो बन्दै गएपछि भने उनी अहिले चर्चा बाहिर छन् । आफुले गरेका प्रत्येक काममा आलोचना भएर चर्चामा रहेका मन्त्री छन्, भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ ।

सिण्डिेकट अन्त्य,ठेकेदारलाई कारबाही गर्ने गृहमन्त्रीको कदममा बाधक बनेको भन्दै उनको निकै आलोचना भयो ।

आफ्नै मन्त्रालय मातहतका कामहरु गर्न नसकेको भन्दै मन्त्री महासेठ अहिले पनि आलोचित छन् ।

उता सकारात्मक कामले चर्चामा रहेका मन्त्री छन, गोकर्ण विष्ट । सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात, विभिन्न मुलुकसंग श्रम सम्झौता, वैदेशिक रोजगार व्यवसायीमाथि अंकुश, श्रम स्वीकृतिको विकेन्द्रीकरण लगायतका कामले श्रममन्त्री विष्ट चर्चामा छन् ।

यता,सरकारको बचाउमा खरो अभिव्यक्ति दिइरहने र नेपाल दुरसञ्चार कम्पनीमा गरेको नियुक्तिले चर्चामा रहेका सरकारका प्रवक्ता एवं सञ्चार एवं सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा आफ्नो प्रस्तुतिले चर्चामा छन् ।

मन्त्रीमा नियुक्ति भएदेखि नै प्रचारमुखी भएको भन्दै आलोचित पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी वाइडबडी खरिद प्रक्रियामा भएको घोटाला र यसबारे दिएका तथ्यहिन अभिव्यक्तिले चर्चामा रहे ।

प्रधानमन्त्री ओलीका विश्वास पात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको राजदुत नियुक्तिदेखि अन्तर्राष्ट्रिय कुटनीतिक भेटघाटमा परिपक्व ढंगले प्रस्तुत हुन नसकेको भन्दै आलोचना भयो ।

अघिल्लो कार्यकालमा चौतर्फी प्रशंसा पाएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितलाई यस पटकको सिंहदरवार बसाई अहिलेसम्म सुखद् हुन नसकेपनि निरन्तर चर्चामा छन् ।

मन्त्रीको सपथ खाएको दिनदेखि नै शेयर बजारमा सुरु भएको गिरावट र आफैंले ल्याएको बजेटप्रति आफ्नै पार्टी भित्रबाट भएको आलोचनाले अर्थमन्त्री डा.युवराज खतिवडा निरन्तर चर्चामा रहे ।

प्रचारमुखी खानेपानी मन्त्री विना मगर पनि मेलम्ची खानेपानी आयोजनाका कारण निरन्तर चर्चामा रहने मन्त्रीमा देखिए ।

यता,चिकित्सा शिक्षा विधेयकले चर्चामा रहेका शिक्षामन्त्री गिरिराजमणी पोखरेल, मन्त्रालयले गर्नसक्ने आधारभुत काम समेत नगर्ने र संसदीय समितिको निर्देशनबिरुद्ध गएको विषयले उद्योगमन्त्री मातृका यादव पनि नकरात्मक कामकै सेरोफेरोले गर्दा चर्चामा छन् ।

ओली सरकारका केही मन्त्री भने गुमनाम जस्तै छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादव,उर्जामन्त्री वर्षमान पुन,कानुनमन्त्री भानुभक्त ढकाल, वनमन्त्री शक्ति बस्नेत, महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा,कृषिमन्त्री चक्रपाणी खनाल,भूमि सुधारमन्त्री पद्माकुमारी अर्याल, राज्यमन्त्रीहरु धनबहादुर बुढा र रामकुमारी चौधरी कुनै पनि हिसाबले चर्चामा छैनन् । न त काम, न त आलोचनाले नै । –ईमेज