दार्चुलाकाे उच्च भू भाग हिउँफूलले भरियाे

प्रकाशित मिति : मङ्लबार, माघ ८, २०७५

दार्चुला । सोमबार रातीदेखी मंगलबार दिउँसोसम्म दार्चुलामा निरन्तर हिउँदे बर्षा र हिमपात हुदा यहाँको जनजीवन प्रभाबित भएको छ । पानीसँगै जिल्लाको हिमाली र उच्च पहाडी भू भागमा रातभरी हिमपात भएपछि डाडाकाडा सबै हिउँफूलले सेताम्य भएका छन् ।
दार्चुलाको अपी हिमाल गाउँपालिका, व्यास गाउँपालिकाको अधिकासं भुभागका साथै दुहुँ, मार्मा, नौगाढ र मालिकार्जुन गाउँपालिकाका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । पहाडी बस्तीहरुमा यो बर्षकै बढी हिमपात भएसंगै चिसो बढेको छ ।
कार्तीक महिनादेखी हिउँ पर्न शुरु गरेको दार्चुलामा पाचँ पटकसम्म हिमपात भइसकेको मार्मा मार्मा गाउँपालिकाका स्थानीय लक्ष्मण महताले जानकारी दिनुभयो । जनजीवन प्रभाबित हुनेगरी बढेको चिसोका कारण हिमाली क्षेत्रका स्थानीयले आगोको साहारा लिएका छन् साथै बिभिन्न बिद्यालयहरुमा बिदा दिइएको छ ।
हिमाली गाउँपालिकाका बिद्यालयहरुले एक महिनाको लामो बिदा दिएका छन् । भने उच्च पहाडी क्षेत्रमा चिसो अत्याधिक बढेको दिनमा मात्रै बिदा दिने गरिएको छ । पठनपाठन सञ्चालन भएका बिद्यालयहरुमा समेत चिसोका कारण शिक्षक बिद्यार्थीहरुको उपस्थिति न्यून रहेको छ ।
पानी संगै परेको हिमपातले बाली सप्रने भन्दै किसानहरु खुसी भएका छन् ।