व्यासका अध्यक्ष र वडाअध्यक्ष बिच मेलमेलाप

प्रकाशित मिति : शुक्रबार, माघ १८, २०७५

दार्चुला । ब्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी र वडा नम्बर ४ का वडा अध्यक्ष संग्राम सिह बिष्टबिच भएको बिबाद समाधान भएको छ । यहि माघ १४ गते कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले आफुमाथी भौतिक आक्रमण, गाली बेइज्जत गरी ज्यान मार्ने धम्की दिएको भन्दै वडा अध्यक्ष बिष्टले जिल्ला प्रहरी कार्यालय दार्चुलामा निबेदन पेश गरेका थिए ।
वडा अध्यक्ष बिष्टले दिएको निबेदन माथि छलफल गर्दा दुबै जनाबाट घटनामा कमीकमजोरी भएको स्वीकार गर्दै आत्माआलोचना गरेपछि समाधान भएको गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले जानकारी दिनुभयो । अध्यक्षले हातपात गरेको र वडा अध्यक्ष बिष्टले समेत आबेसमा आएर अस्वभाबिक ब्यवहार प्रदर्शन गरेको स्वीकार गर्दै अगामी दिनमा यस्ता घट्ना नदोहोर्याउन दुबै जना सहमत भएको ब्यासका नेकपा प्रस्ताबित अध्यक्ष नगेन्द्र तिकंरीले बताउँनुभयो ।
यसअघि व्यास गाँउपालिकामा जनप्रतिनिधिबीच देखिएको विवाद सुल्झाउन जिल्लास्तरमा राजनीतिक दलका नेताहरुबिच समेत छलफल भएको थियो । सोहि छलफलको आधारमा आज सहमति भएको हो ।
माघ १४ गतेको कार्यपालिका बैठकमा सम्पूरक कोषको बजेट बाँडफाँडबारे छलफल हुदा विवाद भएको थियो । गाँउपालिका बैठकको घटनाबारे माघ १५ गते नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले विज्ञप्ति निकालेको थियो । त्यसको भोलिपल्ट व्यास गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रवक्तासहितका कार्यपालिका सदस्यले पत्रकार सम्मेलन गरी घटनाबारे अध्यक्षको बचाउ गरेका थिए । त्यसको भोलीपल्ट बिहिबार १७ गते नेकपा जिल्ला नेताहरु सहित ब्यासका नेकपाबाट निर्बाचित वडाअध्यक्षहरुले अध्यक्ष बुढाथोकीले आक्रमण गरेको भन्दै पत्रकार सम्मेलन गरी आफ्नो पक्षमा धारणा सार्वजनिक गरेका थिए । अन्ततह शुक्रबार बेलुकी दुबै पक्षले घट्नामा कमजोरी भएको स्वीकार गर्दै आत्मआलोचना सहित सहमति गरेर जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट फर्कीएका छन् ।
यसैबिच गाउँपालिका अध्यक्ष र वडा अध्यक्षबिच सहमति भएसंगै नेकपाका स्थानीय नेता कार्यकर्ताहरुले बुधवार दिउँसोदेखि व्यास गाँउपालिका कार्यालयमा लगाएको तालाबन्दी समेत खुल्ने भएको छ । वडा नम्बर ४ का वडाअध्यक्ष संग्राम सिह विष्टलाई गाँउपालिका अध्यक्षले कार्यपालिका बैठकमै आक्रमण गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बुधबार गाउँपालिकामा तालाबन्दी गरेका थिए । गाउँपालिकामा लगाएको तालाबन्दी खुलाएर आइतबारदेखी नियमित कामकाज शुरु हुने नेकपा नेता नगेन्द्र तिकंरीले जानकारी दिनुभयो ।