हिकिला शिद्धटोपी सडकमा काम सूचारु

प्रकाशित मिति : आइतवार, माघ २०, २०७५

दार्चुला । दुहुँ गाउँपालिकाले गाउँसभाबाट बजेट बिनियोजन गरेर कृर्षि तथा पर्यटकीय सडक अन्तरगत गाउँपालिका भित्र दुई ओटा सडक निर्माण गरीरहेको छ । वडा नम्बर २ मा पर्ने हिकिला हुदै शिद्धटोपी जोड्ने सडक र वडा नम्बर ४ को जोशीगाउँ फारा सडकमा गाउँपालिकाले बजेट बिनियोजन गरेर निर्माण कार्य भइरहेको हो ।
बिगत केहि समयदेखी स्थानीयको बिबादका कारण निर्माण कार्य रोकिएको हिकिला शिद्धटोपी सडकमा बिबाद समाधान भएर आइतबारदेखी सड्क खन्ने काम शुरु भइसकेको वडा नम्बर २ का वडा अध्यक्ष एबं गाउँपालिकाका प्रबक्ता गोबिन्द सिह डडालले जानकारी दिनुभयो । हिकिलाको गहकुल गाउँका स्थानीयले सडकमा परेको जमीन नदिने भन्दै अवरोध गरेपछि बिगतमा रोकिएको काम स्थानीयहरुसंगकै समझदारीपछि शुरु भएको छ, वडाअध्यक्ष डडालले भन्नुभयो, स्काभेटर मेसीन लगाएर आइतबार मात्रै दुई सय मिटर सडक काटिएको छ ।
यसअघि नै डिपिआर गरेर निर्माण भइरहेको हिकिला शिद्धटोपी सडकमा झण्डै ४५ लाख रुपैया बजेट बिनियोजन गरीएको र आवश्यकताको आधारमा बजेट थप गरेर निर्माण गर्ने गाउँसभाबाट समझदारी भएको उहाँको भनाइ छ । यस्तै प्रदेश सरकारबाट सासंद गेल्बुसिह बोहराको पहलमा वडा नम्बर १ को पिपलचौरी क्षेत्रमा समेत चालु आर्थिक बर्षबाट सडक निर्माण हुने भएको छ ।
जिल्लाको सबैभन्दा कम पाचँ ओटा वडा मात्रै रहेको दुहु गाउँपालिकाको मध्य भाग भएर गएको दार्चुला तिकंर सडकले सबै वडालाइ छोएको छ । वडा नम्बर एक देखी ५ सम्म सबै वडालाइ सडकले छोएपछि ग्रामीण कृषि तथा पर्यटकीय सडकहरुलाइ गाउँपालिका र प्रदेश सरकारको बजेटबाट निर्माण गर्ने काम भइरहेको उहाँले बताउँनुभयो ।