पुल सञ्चालन नहुदा ट्युबको जोखीम हटेन

प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५

दार्चुला । लेकम गाउँपालिकालाई भारतसँग जोड्ने गरी २०७३ असोज ४ गते कुल एक करोड ३२ लाख रुपैयाँको लागतमा मनोमालिका कन्सट्रक्शनसँग लाली पुल निर्माणको सम्झौता भएको दुई बर्षपछि पुल बनेको छ । सम्झौता अनुसार समयमै काम नहुदा दुई पटक म्याद थप गरेर भारतको डौडा र नेपालको लेकम गाउँपालिकाअन्तर्गत छिरबिला जोड्ने गरी पुस पहिलो साता पुल निर्माण सम्पन्न भएको हो ।
नेपाल सरकारको तुइन तथा ट्युब विस्थापन कार्यक्रम अन्तर्गत निर्माण गरिएको झोलुङ्गे पुलले लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिका क्षेत्रका नागरिकलाई नेपाल–भारत आवतजावतमा सजिलो पार्ने भए पनि औपचारिक रुपमा पुल सञ्चालनमा नल्याइँदा अहिले पनि नागरिकले जोखिम मोलेरै ट्युबको सहारा लिनुपरेको स्थानीय कमल भण्डारीले बताउँनुभयो । विसं २०४८ सालदेखि नै पुल बन्छ भनेर आशामा बसेका नागरिकले झण्डै २७ वर्षपछि पुल देखे पनि आवतजावत गर्न नपाएको लेकम ३ का वडाअध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताउँनुभयो ।
पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले पुल निर्माण सम्पन्न भएको जानकारी स्थानीय प्रशासनलाई दुई महिना पहिले नै गराइसकेको छ । सोही पत्रअनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक महिना अघि नै पिथौरागढ जिल्ला अधिकारी (डिएम)लाई लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा नियमित आवतजावतका लागि पत्राचार गरीसकेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिनुभयो । नेपाली प्रशासनले पूल सञ्चालनकालागि भारतीय पक्षलाइ लिखित आग्रह गर्दा समेत भारतीय प्रशासनले पुलमा आवतजावत गर्न दिएको छैन् ।
दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सासंद गणेश सिह ठगुन्नाले संसद बैठकमा समेत दुई महिना पहिले नै निर्माण सम्पन्न लाली झोलुङगे पूल सञ्चालनकालागि कुटनितिक पहल गर्न परराष्ट्र मन्त्रालयसंग आग्रह गर्नुभएको छ । लाली पुलमा भारतीय पक्षले अनुमति नदिदा आवागमन सुचारु नभएको र स्थानीयले सास्ती भोग्नुपरेको बिषयमा संघिय सरकारको ध्यानआकर्षण गराइएको सासंद ठगुन्नाले जानकारी दिनुभयो । दार्चुलामा अहिलेपनि आधादर्जन स्थानमा महाकाली नदीमाथि ट्युव तथा तुइनको यात्रा हुने गरेको छ । सासंद ठगुन्नाले दार्चुला जिल्लामा नेपाल सरकारको तुईन उन्मुलन कार्यक्रम अन्तर्गत स्विकृति ८ ओटा झोलुङ्गे पुल मध्ये महाकाली नदीमा ६ ओटा पुलहरुको भारतीय प्रशासनको स्विकृति नहुनाले निर्माण शुरु गर्न नसकिएको बताउँदै पुल निर्माणकालागि अभिलम्ब भारत सरकार समक्ष पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।
लाली पुल निर्माण सम्पन्न भएपनि सञ्चालनमा नआउँदा पुलकै तलबाट ट्युबको जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै रहेको स्थानीय प्रेमराम पार्कीले बताउँनुभयो । पुल निर्माणपछि ट्युबको जोखिम छुट्ला, थोरै राहत होला भन्ने सोचेको थिएँ, उहाँले भन्नुभयो, पुल निर्माण भएको दुई महिना भन्दा बढी भयो । पुलबाट वारपार गर्न दिइएको छैन । पुल लागेको ठाउँमा सजिलो हुने भएकाले ट्युब पनि त्यही पुलमुनिबाट वारपार गर्ने गरिएको छ।
पुल सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामानहरु, ब्यावारीक सामाग्रिहरु, औसधिउपचार लगायत बिभिन्न सामान किनमेल गर्न लालीका स्थानीय ट्युबकै साहारामा महाकाली वारपार गरेर भारतीय बजार जाने गरेका छन्, स्थानीय शिक्षक शेरसिह बिष्टले भन्नुभयो, बर्षौदेखी बिहेवारी समेत ट्युवबाट हुने गरेको छ । नेपाल भारत चेलीबेटीको सम्बन्ध भएकोले वारीपारी बिहेवारी हुने गरेको छ । पुल नभए पनि पहिल्यैदेखि विवाहमा ट्युबकै प्रयोग हुँदै आएको छ । हिउँदमा महाकाली नदीमा पानी घटेको बेला सजिलै हुन्छ तर, वर्षात्मा जोखिमपूर्ण हुने गरेको ट्युव चालक खलासी प्रमराम पार्कीले बताउँनुभयो । वारपार गर्दा ट्युबमा दुई÷दुई जना सवार हुन्छन् । ट्युब चालक पार्कीले भन्नुभयो, बढी यात्रु राखे ट्युब पल्टिने जोखिम हुन्छ । पुल सञ्चालनमा आए ट्युबको जोखीम अन्त्य हुने आशामा लेकमबासी रहेका छन् ।
नेपालतिर सडक पुगेको छैन । सडक पहुँच नहँुदा अहिले पनि लालीका स्थानीय भारतीय बजारमा निर्भर हुनुपरेको छ । लालीका स्थानीय बासिन्दालाई नेपाली सामान खरिद गर्न बैतडीको झुलाघाट जान सजिलो छ तर, दार्चुला सदरमुकाम खलङ्गा पुग्न टाढा छ । खलङ्गासम्म नेपालतिरै भएर हिँडेर आउन पूरै दिन लाग्छ । झुलाघाटबाट सामान लिएर बिहान गए बेलुकी फर्किन सकिने स्थानीय शेरसिह बिष्टले बताउँनुभयो ।
यसैबिच लेकम गाउँपालिका ३ लालीमा निर्माण गरिएको झोलुङ्गे पुलको सुरक्षाका लागि प्रहरी राख्न अस्थायी बिट निर्माण गरिने भएको छ । गाउँपालिकाको सहयोगमा सुरक्षार्थ खटिने प्रहरी बस्न अस्थायी भवनको रुपमा बिट बनाउन लागिएको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउँनुभयो । प्रहरीका लागि बस्न भवन, शौचालय, खानेपानीसहित कुल एक लाख ७७ हजार रुपैयाँको लागतमा प्रहरीको बस्ने बिट बनाउन लागिएको हो । लेकम गाउँपालिकाका ओभरसियर दीपक धामीले जानकारी दिनुभयो । लागत अनुमान तयार भइसकेकाले एक–दुई दिनभित्रै भवन निर्माण कार्य शुरु गरिने सीमा प्रहरी चौकी लालीका निमित्त इन्चार्ज गणेश बुडालले बताउनुभयो । पुलबाट सीमा प्रहरी चौकीबाट जान टाढा हुने भएका कारण त्यही भवन बनाउन लागिएको उहाँले बताउँनुभयो ।