लाली पुलको नेपाल-भारत संयुक्त अनुगमन

प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा नेपालको छिरबिला र भारततर्फको डौडा जोड्ने गरी दुई महिना पहिले नै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल सञ्चालनमा आउन सकेको छैन् । अहिलेसम्म भारतीय पक्षले पुलमा आवतजावतकालागि अनुमति नदिदा स्थानीयले पुलको तलबाट ट्युवकै साहारामा जोखीमपुर्ण यात्रा गर्न बाध्य छन् ।
डेढ महिनायता नेपालको तर्फबाट जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत पटकपटक लिखित र मौखीक रुपमा पुल सञ्चालनकालागि भारतीय पक्षलाइ आग्रह गरेपनि अझै पुल सञ्चालन हुन सकेको छैन् । पछिल्लो समय स्थानीयको आवश्यकता र लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशी, जिल्ला प्रशासन कार्यालय दार्चुला लगायतको समन्वय एबं अनुरोधपछि दार्चुला जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद गणेश सिह ठगुन्नाले संसदमा र परराष्ट्र मन्त्रालयमा लाली पुल सञ्चालनकालागि भारतीय राजदुतावाससंग आवश्यक समन्वय गर्न आग्रह गर्नुभएको छ ।
भारतमा पिथौरागढ जिल्ला अधिकारी एसडिएम परिवर्तन भएर नयाँ आएको कारण अनुमति आउँनमा ढिलाइ भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ । भारतीय पक्षले पुलसंग जोडिएको केहि काम बाकी रहेकोले समेत अनुमति दिनमा ढिलाइ गरेको हुनसक्ने अनुमान गरिएको छ । बाकी काम सम्पन्न गर्नकालागी निर्माण ब्यवसायिसंग टेण्डर सम्झौता भइसकेकोले जनआवश्यकताको आधारमा पुलमा आवतजावत रोक्न नहुने उहाँको भनाइ छ ।
एसडिएम परिवर्तन भएपछि हामीले धारचुलामा भेटघाट गरेर खोतीला पहिरो र लाली पुल सञ्चालनकालागि आग्रह गर्यौ, लिखित र मौखीकरुपमा फोन तथा इमेल मार्फत पुल सञ्चालनकालागि पटकपटक आग्रह गर्यौ तर अहिलेसम्म पुल सञ्चालन भएको छैन, प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, शनिबार भएको कुराकानीका आधारमा सोमबार नेपाली र भारतीय दुबै पक्षको तर्फबाट प्राबिधिक सहितको टोलीले लाली पुलको संयुक्त अनुगमन गर्ने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह सहजै भारतीय पक्षले नमानेपछि प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले समेत प्रदेश सभा र प्रतिनिधिसभा सदस्यहरुलाइ पुलको बिषयमा जानकारी गराएको बताउँनुभयो । प्रतिनिधिसभा सासंद गणेश सिह ठगुन्नाले स्थानीय प्रशासनको अनुरोध नमानेपछि परराष्ट्र मन्त्रालय मार्फत भारतीय राजदुतावाससंग कुरा गरेपश्चात सोमबार लाली पुलको संयुक्त अनुगमन गर्न भारतीय पक्ष तयार भएको बताउँनुभयो । लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले पुल सञ्चालनकोलागि भारतीय ग्राम पञ्चायत अध्यक्षलाइ आफैले भेटेर सहयोग गर्न आग्रह गरेको र प्रतिनिधिसभा सदस्य ठगुन्नाले समेत परराष्ट्र मन्त्रालयमार्फत दुतावासलाइ जानकारी गरेपश्चात पुल सञ्चालनकालागि अनुगमन गर्न लागिएको बताउँनुभयो ।
लेकम गाउँपालिकालाई भारतसँग जोड्ने गरी २०७३ असोज ४ गते कुल एक करोड ३२ लाख रुपैयाँको लागतमा मनोमालिका कन्सट्रक्शनसँग लाली पुल निर्माणको सम्झौता भएको दुई बर्षपछि पुल बनेको छ । सम्झौता अनुसार समयमै काम नहुदा दुई पटक म्याद थप गरेर भारतको डौडा र नेपालको लेकम गाउँपालिकाअन्तर्गत छिरबिला जोड्ने गरी पुस पहिलो साता पुल निर्माण सम्पन्न भएको हो ।
नेपाल सरकारको तुइन तथा ट्युब विस्थापन कार्यक्रम अन्तर्गत निर्माण गरिएको झोलुङ्गे पुलले लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिका क्षेत्रका नागरिकलाई नेपाल–भारत आवतजावतमा सजिलो पार्ने भए पनि औपचारिक रुपमा पुल सञ्चालनमा नल्याइँदा अहिले पनि नागरिकले जोखिम मोलेरै ट्युबको सहारा लिनुपरेको स्थानीय कमल भण्डारीले बताउँनुभयो । विसं २०४८ सालदेखि नै पुल बन्छ भनेर आशामा बसेका नागरिकले झण्डै २७ वर्षपछि पुल देखे पनि आवतजावत गर्न नपाएको लेकम ३ का वडाअध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताउँनुभयो ।
पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले पुल निर्माण सम्पन्न भएको जानकारी स्थानीय प्रशासनलाई दुई महिना पहिले नै गराइसकेको थियो । सोही पत्रअनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले समेत डेढ महिनायता पटकपटक पिथौरागढ जिल्ला अधिकारी (डिएम)लाई लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा नियमित आवतजावतका लागि पत्राचार गरेको छ ।
लाली पुल निर्माण सम्पन्न भएपनि सञ्चालनमा नआउँदा पुलकै तलबाट ट्युबको जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै रहेको स्थानीय प्रेमराम पार्कीले बताउँनुभयो । पुल निर्माणपछि ट्युबको जोखिम छुट्ला, थोरै राहत होला भन्ने सोचेको थिएँ, उहाँले भन्नुभयो, पुल निर्माण भएको दुई महिना भन्दा बढी भयो । पुलबाट वारपार गर्न दिइएको छैन । पुल लागेको ठाउँमा सजिलो हुने भएकाले ट्युब पनि त्यही पुलमुनिबाट वारपार गर्ने गरिएको छ।
पुल सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामानहरु, ब्यावारीक सामाग्रिहरु, औसधिउपचार लगायत बिभिन्न सामान किनमेल गर्न लालीका स्थानीय ट्युबकै साहारामा महाकाली वारपार गरेर भारतीय बजार जाने गरेका छन्, स्थानीय शिक्षक शेरसिह बिष्टले भन्नुभयो, बर्षौदेखी बिहेवारी समेत ट्युवबाट हुने गरेको छ । नेपाल भारत चेलीबेटीको सम्बन्ध भएकोले वारीपारी बिहेवारी हुने गरेको छ । पुल नभए पनि पहिल्यैदेखि विवाहमा ट्युबकै प्रयोग हुँदै आएको छ । हिउँदमा महाकाली नदीमा पानी घटेको बेला सजिलै हुन्छ तर, वर्षात्मा जोखिमपूर्ण हुने गरेको ट्युव चालक खलासी प्रमराम पार्कीले बताउँनुभयो । वारपार गर्दा ट्युबमा दुई÷दुई जना सवार हुन्छन् । ट्युब चालक पार्कीले भन्नुभयो, बढी यात्रु राखे ट्युब पल्टिने जोखिम हुन्छ । पुल सञ्चालनमा आए ट्युबको जोखीम अन्त्य हुने आशामा लेकमबासी रहेका छन् ।

नेपालतिर सडक पुगेको छैन । सडक पहुँच नहँुदा अहिले पनि लालीका स्थानीय भारतीय बजारमा निर्भर हुनुपरेको छ । लालीका स्थानीय बासिन्दालाई नेपाली सामान खरिद गर्न बैतडीको झुलाघाट जान सजिलो छ तर, दार्चुला सदरमुकाम खलङ्गा पुग्न टाढा छ । खलङ्गासम्म नेपालतिरै भएर हिँडेर आउन पूरै दिन लाग्छ । झुलाघाटबाट सामान लिएर बिहान गए बेलुकी फर्किन सकिने स्थानीय बिष्टले बताउँनुभयो ।

दार्चुलामा अहिलेपनि आधादर्जन स्थानमा महाकाली नदीमाथि ट्युव तथा तुइनको यात्रा हुने गरेको छ । प्रतिनिधिसभा सासंद गणेश सिह ठगुन्नाले दार्चुला जिल्लामा नेपाल सरकारको तुईन उन्मुलन कार्यक्रम अन्तर्गत स्विकृति ८ ओटा झोलुङ्गे पुल मध्ये महाकाली नदीमा ६ ओटा पुलहरुको भारतीय प्रशासनको स्विकृति नहुनाले निर्माण शुरु गर्न नसकिएको बताउँदै पुल निर्माणकालागि अभिलम्ब भारत सरकार समक्ष पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको बताउँनुभयो ।