लेकमलाइ रातामाटाका पाठक परिवारले गरे आठ रोपनी जग्गादान

प्रकाशित मिति : शनिबार, फाल्गुन १८, २०७५

दार्चुला । लेकम गाउँपालिका ४ रातामाटाका पाठक परिवारले गाउँपालिकालाइ आठ रोपनी जग्गा दान गरेका छन् । गाउँपालिकाको आवश्यकता अनुसार पाचँ भाइ पाठक परिवारले शुक्रबार जिल्ला मालपोत कार्यालय दार्चुला आएर गाउँपालिकाको नाममा जग्गा नामसारी गरेका हुन्।
रातामाटाका स्थानीय गणेशदत्त पाठक, अर्जुनसिह पाठक, मनिराम पाठक, तारादत्त पाठक र अन्तराम पाठकको परिवारले संयुक्त रुपमा आठ रोपनी जमिन गाउँपालिकालाइ दान गरेको लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशीले जानकारी दिनुभयो ।

जग्गाका हकदाताहरु तारादत्त पाठक, नारायण दत्त पाठक, गोकर्ण पाठक, गणेश दत्त पाठक, अम्बादत्त पाठक, पदमराज पाठक, मनोरथ पाठक, केशबदत्त पाठक, अन्तराम पाठक, प्रमानन्द पाठक, अर्जुनदेव पाठक, महानन्द पाठक, मनिराम पाठक, रतनदेव पाठक, केशबराज पाठक, दुर्गादत्त पाठक, तोयराज पाठक, हरिना पाठक, पार्वती पाठक र हिरा पाठक लगायत दुई दर्जन स्थानीयले जिल्ला सदरमुकाम खलंगा आएर गाउँपालिकाको नाममा जग्गा नामसारी गरिदिएको उहाँले बताउँनुभयो ।
लेकम गाउँपालिकाको कार्यालय खरकडाबाट रातामाटा कायम गर्नेगरी राजपत्रमा प्रकाशित भइसकेपछि आवश्यक भौतिक संरचना निर्माणकालागि भन्दै पाठक परिवारले जग्गा दान गरेको बताएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा (३) बमोजिम गाउँसभाको दुई तिहाई बहुमतले यसअघि नै खरकडाबाट गाउँपालिका केन्द्र रातामाटा कायम गर्ने निर्णय गरेपछि यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ ।
लेकम गाउँपालिकाको सदरमुकाम रातामाटा कायम गरिएको लामो समय बितेपनि भवन अभाब लगायत कारणले अहिलेसम्म वडा नम्बर ४ को केन्द्र खरकडाबाट नै कार्यसम्पादन भइरहेको छ । अधिकासं पाठक परिवार रातामाटाबाट कञ्चनपुर बसाइ सरेको कारण पैतृक सम्पत्तीको नाममा रहेको जग्गा गाउँपालिकालाइ दान गरेका हुन् । शुक्रबार गाउँपालिकालाइ जग्गा प्राप्ती भएपछि संरचना निर्माणको प्रकृर्या तत्काल अघि बढाउँन स्थानीयले माग गरेका छन् । गाउँपालिकालाइ जग्गा दान गरेर महान काम गरेको भन्दै जग्गादाता पाठक परिवारलाइ गाउँपालिकाले धन्यबाद समेत ज्ञापन गरेको छ ।