लेकम गाउँपालिकालाइ पाठक परिवारले गरे आठ रोपनी जग्गादान

प्रकाशित मिति : आइतवार, फाल्गुन १९, २०७५

दार्चुला । लेकम गाउँपालिका वडा नम्वर ४ रातामाटाका पाठक परिवारले गाउँपालिकालाइ आठ रोपनी जग्गा दान गरेका छन् । गाउँपालिकाको आवश्यकता अनुसार पाचँ भाइ पाठक परिवारले जिल्ला मालपोत कार्यालय दार्चुला आएर गाउँपालिकाको नाममा जग्गा नामसारी गरिदिएका हुन् ।
रातामाटाका स्थानीय गणेशदत्त पाठक, अर्जुनसिह पाठक, मनिराम पाठक, तारादत्त पाठक र अन्तराम पाठकको परिवारले संयुक्त रुपमा आठ रोपनी जमिन गाउँपालिकालाइ दान गरेको लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशीले जानकारी दिनुभयो । लेकम गाउँपालिकाको कार्यालय खरकडाबाट रातामाटा कायम गर्नेगरी राजपत्रमा प्रकाशित भइसकेपछि आवश्यक भौतिक संरचना निर्माणकालागि सहयोग पुगोस भनेर आफुहरुले गाउँपालिकालाइ जग्गादान गरेको जग्गादाता अन्तराम पाठकले बताउँनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा (३) बमोजिम गाउँसभाको दुई तिहाई बहुमतले खरकडाबाट गाउँपालिका केन्द्र रातामाटा कायम गर्ने निर्णय गरेपछि यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ । लेकम गाउँपालिकाको सदरमुकाम रातामाटा कायम गरिएको लामो समय बितेपनि भवन अभाब लगायत कारणले अहिलेसम्म वडा नम्बर ४ को केन्द्र खरकडाबाट नै कार्यसम्पादन भइरहेको छ ।
अधिकासं पाठक परिवार रातामाटाबाट कञ्चनपुर बसाइ सरेको कारण पैतृक सम्पत्तीको नाममा रहेको जग्गा गाउँपालिकालाइ दान गरेका छन् । पितृ शान्ती र गाउँपालिकाको हितकालागि पैतृक सम्पत्ती गाउँपालिकालाइ दान गरेको गणेशदत्त पाठकले बताउँनुभयो ।
गाउँपालिकाको केन्द्र तोकिएकै स्थानमा आवश्यकता अनुसार जग्गा दान गरेकोमा गाउँपालिकाले जग्गादाता परिवारलाइ धन्यबाद ज्ञापन गरेको छ ।


गाउँपालिकाको सिफारीसका आधारमा केन्द्र सरकारको निर्णय अनुसार सबैको पायक पर्ने गरी लेकम गाउँपालिकाको केन्द्र रातामाटा कायम भएपछि स्थानीय खुसी भएका छन् । नागरीकहरु राज्यबाट फाइदा लिइरहेको बेला आफ्नो नाममा रहेको जग्गा समेत दान गरेर पाठक परिवारले पुण्य काम गरेको हुनैनाथ माबिका प्रधानाद्यापक श्यामराज जोशीको भनाइ छ । गाउँपालिकालाइ जग्गा दान गरेर इतिहास कायम रहनेगरी जिउदै अमरत्व प्राप्त हुने महान काम गरेको भन्दै कृष्ण माबि लालीका क्याम्पस प्रमुख एबं लेकम ५ का स्थानीय केशबराज जोशीले प्रशंसा गर्नुभयो । जग्गा प्राप्ती भइसकेको अवस्थामा गाउँपालिकाले छिट्टै प्रशासनिक संरचना निर्माण गरेर रातामाटामा कार्यालय स्थापना गर्नुपर्ने उहाँको भनाइ छ ।