स्वास्थ्य बीमा कार्यक्रम ४१ औँ जिल्ला, दार्चुलामा शुभारम्भ

प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५

दार्चुला । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले बिभिन्न ४१ जिल्लामा लागु भएको छ । तपाईको स्वास्थ्य हाम्रो अठोट मूल नाराका साथ राष्ट्रिय स्वास्थ्य बिमा नीति २०७१ बमोजिम आर्थिक बर्ष २०७२÷०७३ मा कैलाली बाग्लुङ र इलाम जिल्लाबाट शुरु भएको बिमा कार्यक्रम ४१ औ जिल्लाको रुपमा सोमबारदेखी दार्चुलामा शुरु भएको छ ।
अबको तीन वर्ष भित्र सबै जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने घोषणा सहित सरकारले बिभिन्न जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम बिस्तार गर्ने रणनीति बनाएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७२ चैत २५ देखि कैलाली बाटै यो कार्यक्रम सुरु गरेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले जानकारी दिनुभयो ।
बिमा कार्यक्रममा आवद्ध हुन ५ जनासम्म सदस्य रहेको परिवारले वर्षको २ हजार ५ सय रुपैँया प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ भने यस बापत वर्ष भरिमा ५० हजार वरावरको स्वास्थ्य सेवा लिन पाईने छ । ५ जना भन्दा बढि सदस्य भएको परिवारले १ व्यक्ति वरावर थप ४ सय ५० बढी तिरेर विमा सदस्य बन्ने र प्रतिब्याक्ति १० हजार बराबरको थप निःशुल्क उपचार सेवा लिने व्यवस्था रहेको कार्यकारी निर्देशक पोखरेलले बताउँनुभयो ।
बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ । तर गरीबि निवारण कोषले बिभिन्न जिल्लामा अझैपनि गरीवीको घर परिवार पहिचान गर्न नसकेको अवस्थामा गरीव, बिपन्न समुदाय छुट्याउन समस्या भएको उहाँले बताउँनुभयो ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा नपाइने स्वास्थ्य बिमा बोर्डका तालिम प्रशिक्षक रामकुमार श्रेष्ठले बताउँनुभयो ।
यसैबिच स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलको अध्यक्षता एबं सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामीको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रमकाबिच दार्चुला जिल्लामा स्वास्थ्य बिमाको उद्घाटन गरीएको छ । सोमबारदेखी नै दर्ता सहयोगीहरुले गाउँघरमा पुगेर आम नागरीकलाइ स्वास्थ्यबिमामा आवद्ध गराउँनेगरी स्वास्थ्य बिमा कार्यक्रमको शुरुवात गरीएको हो । दार्चुलाबाट प्रदेशसभामा निर्वाचित सासंद मानबहादुर धामी, महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भटट्, महेन्द्र नमुना माबिका प्रधानाद्यापक रामदत्त जोशी र स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख शिवराज सुनारले सबैभन्दा पहिले स्वास्थ्य बिमा गराएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, जिल्ला न्यायधिस गिरीराज गौतम, महाकाली नगरप्रमुख हंशराज भट्ट, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थी, सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँर, सुरक्षा निकायका प्रमुख, बिभिन्न कार्यालय प्रमुख लगायत सरोकारवाला बिभिन्न क्षेत्रका ब्याक्तित्तहरुको सहभागिता रहेको थियो । स्वास्थ्य बिमा कार्यक्रमको सदस्यता दर्ता शुभारम्भ कार्यक्रमका बक्ताहरुले स्वास्थ्य बिमा कार्यक्रम जनताकालागि जनताद्धारा सञ्चालित कार्यक्रम भएकोले सहभागि हुन आग्रह गरेका छन् ।
यसअघि दार्चुलाको नौ ओटै स्थानीय तहमा स्वास्थ्यबिमाबारे सरोकारवालाहरुलाइ अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । ६१ ओटै वडाहरुमा स्वास्थ्य बिमा दर्ता सहयोगी चयन गरेर उनिहरुलाइ तालीमसहित गाउँघरमा परिचालन गरीएको छ । यो कार्यक्रममा सहभागी हुँदा आफू र आफ्नो परिवारका सदस्य बिरामी पर्दा उपचारमा सहजता हुने र समाजिक उत्तरदात्तित्व समेत पुरा हुने बिमा बोर्डले जनाएको छ ।