सरकार र सिके राउत नेतृत्वको गठबन्धनबीच ११ बुँदे सहमति

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४, २०७५

काठमाण्डौ । नेपाल सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच मधेस र देशमा देखिएको मतभेदको समाधान जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत समाधान गर्ने ११ बुँदे सहमति भएको छ ।

राष्ट्रियसभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक सिके राउतले ११ बुदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

मधेशमा पृथकतावादी गतिविधि सञ्चालन गरिरहेका सीके राउतले अखण्ड नेपाल स्वीकार गरेपछि सहमतिपत्रमा हस्ताक्षर हुन पुगेको हो ।

स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाइएको मुद्धाहरु फिर्ता लिने र पक्राउ परेकाहरुलाई निशर्त रिहा गरिने सहमति भएको छ ।

यस्तै गठबन्धनले स्वतन्त्र तराईको माग गर्दै किताब, पर्चा, पम्प्लेट, झण्डा, गीत जस्ता बस्तुहरु कुनै पनि प्रकाशन प्रसारण नगर्ने, त्यही किताब, पर्चा पम्प्लेटको विषयलाई लिएर गठबन्धनका कार्यकर्तालाई धरपकड गर्न नपाउने उल्लेख छ ।

गएको भदौ १५ मा प्रहरी हिरासतमा मृत्यु भएका आफ्ना कार्यकर्ता राममनोहर यादवको परिवारलाई उचित क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारी दिने र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले ब्यहोर्ने सहमति भएको छ ।

स्वतन्त्र मधेस गठबन्धनलाई अबदेखि लोकतान्त्रिक राजनीतिक दलको रुपमा हेर्ने पनि सहमति भएको छ ।

सहमतिका बुदाहरु,

१. मुलुकको स्वाधीनता स्वीकार्ने

२. लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने

३. असन्तुष्टि समाधान गर्ने

४. सरकारले सिके राउतको संगठनको मुद्दा फिर्ता लिने

५. सिके राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने

६. विखण्डनवादी क्रियाकलाप रोक्ने

७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने

८. गएको भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र उनका परिवारका सदस्यलाई सरकारले रोजगारीको व्यवस्था गर्ने

९. घाइतेहरुलाई उपचार गर्ने

१०. सिके राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने

११. सहमति आजैबाट लागू हुने