गाेकुलेश्वरमा निगालोबाट उत्पादित सामग्रीको व्यापार बढ्दो

प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५

दार्चुला । शिवरात्रीको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ । सयौं वर्षदेखि स्थानीय उत्पादनको कारोबार गर्न लाग्ने मेलामा यो वर्ष निंगालोबाट उत्पादित सामाग्रीको कारोबार बढेको हो ।

गोकुलेश्वरको चौलानी नदी किनारमा लाग्ने मेलामा दार्चुला, बैतडी र बझाङका स्थानीय उत्पादनको कारोबार भइरहेको छ । मेलामा तीनवटै जिल्लाका स्थानीयले उत्पादन गरेका निगालोका सामग्री, काठ र फलामबाट बनेका भाँडाकुँडा र जडिबुटी बिक्रीमा राखिएका छन । यसवर्ष मेलामा निङगालोबाट निर्माण हुने मोट्टा, खटिया, सुप्पा, छाप्राको कारोवार सबैभन्दा बढी भइरहेको मार्मा गाउँपालिका १ दह घोल्जरका स्थानीय व्यापारी सुरेन्द्रसिह ठगुन्नाले बताउनुभयो ।

विगतमा यति धेरै विक्री भएको थिएन, उहाँले भन्नुभयो, यो वर्ष सोचेअनुसारको सामाग्री विक्री भइरहेको छ । मेलामा मार्माको दह घोल्जरका साथै शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानिशिखर र नौगाडको सिप्टीलगायतका क्षेत्रबाट निंगालोको सामान विक्रीको लागि ल्याइएको छ । मेलामा मोट्टा एक हजार पाँच सयदेखि चार हजार रुपैयाँमा विक्री भइरहेको छ । यस्तै सुप्पा तथा छाप्राको दुई सय रुपैयाँदेखी चारसय रुपैयाँसम्म कारोवार भइरहेको ब्यापारी उमेश धामीले बताउनुभयो । दह घोल्जरका मात्रै एक सय परिवारले प्रतिपरिवार १० देखी १५ हजारसम्म निङगालोका सामाग्रीहरु निर्माण गरेर बिक्रिबितरणको लागि ल्याएका छन् ।

जिल्लाको अन्य क्षेत्रभन्दा पनि मार्मा गाउँपालिकाको वडा नम्बर १ दह क्षेत्रमा सबैभन्दा बढि निंगालो उत्पादन हुने गरेको छ । निंगालो बढि उत्पादन भएकै कारण यहाँका स्थानीयले बढि जसो निंगालोबाट उत्पादन हुने सामाग्री बनाएर विक्री गर्ने गरेका छन् । निङगालोका सामाग्रीहरु निर्माणमा मेहनत धेरै लाग्ने भएपनि मेहनत अनुसारको ज्याला नपाइने उनीहरु बताउँछन् । जंगलमा गएर निङगालो काट्ने, घरमा ल्याएर चिर्ने, घाममा सुकाउने, पानीमा भिजाउने केहि दिनपछि पानीबाट निकालेर चोया निकालेर सामाग्री बुन्ने गरीन्छ ।

कच्चा पदार्थ तयार भइसकेको अवस्थामा एक दिनमै १० भन्दा बढी सुप्पा छाप्रा बुन्न सकिने उद्यमी सुरज धामी बताउनुहुन्छ । कच्चा पदार्थ उपलब्धता भयो भने सामान बनाउन खासै समस्या छैन्, उहाँले भन्नुभयो । विगतमा सबै ठाउँमा सजिलै कच्चा पदार्थ उपलब्धता हुने गरेको थियो, तर अहिले कम हुँदै गएको छ। मार्माको दह घोल्जरका स्थानीयको रोजगारी र आयआर्जनको प्रमुख तथा एक मात्र माध्यम निङगालोबाट बन्ने सामाग्रीहरु नै हो । बर्षभरीमा हजारौ सामाग्री निर्माण गरेर उद्यमीहरुले गोकुलेश्वर मेलामा बिक्रि गर्ने गरेका छन् । व्यापारीहरु सामाग्री किन्न गाउँमै पनि जाने गरेका छन् । गाउँमा विक्री हुन नसकेको सामान मात्रै मेलामा ल्याएर विक्री गर्ने गरेको अर्का स्थानीय जगत ठगुन्ना सुनाउनुहुन्छ ।

गोकुलेश्वर मेलामा निङगालोका सामाग्रीहरु मात्रै हैन, काठका भाडाकुडाहरु, उनी कपडा, हिमाली क्षेत्रको जडिबुटी, मिठाई र फलफुलका परिकारहरुलगायत बिभिन्न सामाग्रीको कारोबार पनि यो वर्ष बढेको छ । विगतमा शिवरात्री महोत्सवका कारण कारोबारमा कमी आएकोमा यो वर्ष मेलाको कारण कारोबार बढेको व्यापारीहरु बताउँछन् । गोकुलेश्वरमा व्यापारको लागि सुदूरपश्चिमका बिभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट समेत व्यापारी तथा ग्राहकहर आएका छन् । स्थानीय उत्पादनको बिक्रि वितरणले स्थानीय स्तरमै स्वरोजगारी सृजना मात्रै भएको छैन, खेर गइराखेका बस्तुहरुको उत्पादनको उपयोग र आर्थिक उपार्जनको बलियो आधारसमेत बनेको छ ।

गत फागुन २० गतेबाट शुरु भएको मेला एक हप्तासम्म चल्ने गर्छ् । गोकुलेश्वरस्थित हवाई मैदानमा मेला लाग्ने गर्छ् । अनाज सुकाउन तथा विच्छयाउनको लागि मट्टा बढि प्रभावकारी हुन्छ । तिब्बती ऊनी कपडा र हस्तकलाका सामग्री पनि बिक्रीमा राखिएका छन । दार्चुलाको हिमाली क्षेत्रका बासिन्दाले जडीबुटी, राडी, फाखी, कम्बल, स्विटर लगायतका सामान बिक्री गरिरहेका छन । डडेलधुराको जोगबुडालगायत भित्री मधेसमा बनेका ठेकी, हलो लगायतका सामग्रीको पनि राम्रो व्यापार भएको छ । ऊनीका तानमा बुनेका राडीपाखी, गलैंचा लगायत अन्य वस्तुहरू मेलाका मुख्य आकर्षक रहेको व्यापारी भुवन धामीले बताउनुभयो ।

प्रविधिको विकाससँगै तालिमको अभावका कारण पनि अझै सीपलाई परस्कृत गर्न नसकिएको उद्यमी प्रेम टमटा बताउनुहुन्छ । हामीलाई तालिमको अभाव छ । अहिले पनि उहि हसियाँको सहारामा रेसा निकाल्ने र बुन्ने काम भइरहेको छ । घरेलु तथा साना उद्योग विकास समितिले गत वर्ष दुहुँ गाउँपालिकाको हिकिला तथा शैल्यशिखर नगरपालिकाको रानिशिखरमा बुनाई तालिम सञ्चालन गरेको थियो । यस्तै यो वर्ष लेकम गाउँपालिकाको कुणीमा निंगालोबाट उत्पादित सामाग्रीको तालिम सञ्चालन गर्ने तयारी भइरहेको घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग अधिकृत पदमबहादुर ठकुराठीले बताउनुभयो ।

हरेक क्षेत्रबाट तालिमको माग आएपनि स्रोत साधन र बजेट अभावले सबै क्षेत्रमा प्रविधिमा आधारित तालिम सञ्चालन गर्न सकिएको छैन् । जिल्लाको दुहुँ, शैल्यशिखर, नौगाड, मार्मा, लेकम र अपीमा निंगालो उत्पादन हुने गरेको छ ।