छाङरुमा सशस्त्र प्रहरीको विओपी राख्न जग्गा व्यवस्थापन

प्रकाशित मिति : सोमवार, चैत्र ४, २०७५

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरुमा बाह्रै महिना बस्ने गरी सशस्त्र प्रहरी वलको विओपी स्थापनाकालागि जग्गा व्यवस्थापनको बिषयमा सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको स्थानीय लगायत सरोकारवालाहरुको बैठकले छाङरुमा आवश्यक सुरक्षा बन्दोबस्ती सहित विओपी स्थापना गर्नकालागि जग्गा उपलब्ध गराउँने बिषयमा सहमति भएको हो ।
प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख करबिरसिह कार्कीको प्रमुख आतिथ्यतामा बसेको बैठकले साबिकको व्यास गाबिस वडा नम्बर ३ अर्थात हालको व्यास गाउँपालिका वडा नम्बर १ छाङरुको गागास्थित कित्ता नम्बर ३५ को १ सय १५ रोपनी ३ आना जमिनमध्ये गागा नदीको काठेपुल छेउ, गोरेठो बाटो उत्तर पश्चिमतर्फको १५ रोपनी समथर जमिन सशस्त्र प्रहरी वलको बिओपी स्थापनाकालागि उपलब्ध गराउँने निर्णय भएको छ । यस्तै व्यासको गागा क्षेत्रमा रहेको बाँकी जमिन क्षेत्र स्थानीय वासिन्दाको चलनभोग अनुसार उपभोग गर्नमा कुनै अवरोध नपुर्याउने निर्णय समेत गरीएको सशस्त्र प्रहरी बल गुल्म हेडक्वटर नम्बर ५० का गुल्मपती भिम बहादुर चन्दले जानकारी दिनुभयो ।
बैठकले गागा नदी किनारमा तटबन्ध लगायत जमिन संरक्षणको संरचना निर्माणका लागि नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र व्यास गाउँपालिकालाइ अनुरोध गर्ने निर्णय भएको छ । सशस्त्र प्रहरीको प्रस्तावित विओपी स्थापना र सञ्चालनमा स्थानीय वासिन्दाले सहयोग उपलब्ध गराउँने र स्थानीय वासिन्दासंग समन्वय गरेर जमिनको सिमाकंन गर्ने निर्णय समेत गरिएको गुल्मपती चन्दले बताउँनुभयो । प्रस्तावित विओपी यथासिघ्र स्थापनाका लागि सम्बन्धित निकायमार्फत नेपाल सरकारलाइ अनुरोध गर्ने निर्णय समेत गरीएको उहाँले बताउँनुभयो ।
विओपी स्थापनाकालागि जग्गा ब्यवस्थापन सम्बन्धी छलफलमा नेकपा दार्चुलाका प्रस्तावित अध्यक्ष गणेशसिह खत्री, नेपाली काग्रेश दार्चुलाका सभापती ललितसिह बोहरा, दुर्गादल गुल्म दार्चुलाका गुल्मपती गणेश रावल, सशस्त्र प्रहरी वलका गुल्मपती भिम बहादुर चन्द, नेपाल प्रहरी दार्चुलाका निमित्त प्रमुख हिक्मत बहादुर बोहरा, व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिह बोहरा, नेकपाका नेता नगेन्द्रसिह तिकंरी लगायत स्थानीयबासी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
बिगत लामो समयदेखी जिल्लावासीले त्रिदेशीय सिमा क्षेत्रमा सुरक्षा माग गरीरहेको र सुरक्षा समितिले समेत छाङरुमा सशस्त्र प्रहरी वलको विओपी आवश्यक रहेको प्रतिबेदन पटकपटक गृह मन्त्रालयमा पेश गरेपछि बिओपी स्थापनाको प्रकृर्या शुरु भएको छ । त्रिदेशीय सिमा र स्थानीयको सुरक्षा, बिकास निर्माणका साथै राष्ट्यिताको रक्षाकालागि समेत सशस्त्र प्रहरी वलको बिओपी स्थापनापछि सहयोग पुग्ने जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्कीले बताउँनुभयो । सिमा क्षेत्रका अबैध गतिबिधिको नियन्त्रण र शान्ति सुरक्षाकालागि प्रहरीले भुमिका निर्वाह गर्ने भएको कारण ब्यास क्षेत्र र ब्यासबासीकालागि निकै सकारात्मक प्रयास भएको प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले बताउँनुभयो ।
जिल्ला सुरक्षा समितिले महाकाली क्षेत्रका भारतसंग सिमा जोडीएका ब्यास देखी लालीसम्म ६ ओटा स्थानमा बिओपी स्थापना गर्न माग गरेपनि नेपाल सरकारले तत्काल छाङरुमा बिओपी स्थापना गर्न चासो देखाएर प्रकृर्या शुरु भएको हो । अहिलेसम्म कालापानी, लिपुलेक, ब्यास गुफा, कैलास मानसरोवरको प्रबेशद्धार, अपि नाम्पा संरक्षण क्षेत्र, सामरिक महत्त बोकेको ऐतिहासीक, धार्मीक, पर्यटकिय क्षेत्र सुरक्षाबिहिन छ ।
सामरिक महत्त र सुरक्षा दृष्टीकोणले संबेदनसिल मानिएको सीमा क्षेत्रमा छिमेकी मुलुक भारत र चीनकोतर्फबाट प्रयाप्त कडाईका साथ सुरक्षाकर्मीको उपस्थित तैनाथ छ । तर नेपालको तर्फबाट सुरक्षाकर्मी मात्रै हैन, मानविय उपस्थिति समेत हिमपात भएको समयमा छ महिना सुन्य हुने गरेको छ । व्यासवासीलाइ शान्ती सुरक्षा दिन नेपाल प्रहरी ६ महिनामात्रै सिमा क्षेत्रभन्दा निकै तल बस्ने गरेको छ । अहिले स्थानीयसँगै प्रहरीपनि व्यासकै वडा नम्बर २ दुम्लीङ झरेपछि छांगरु र तिंकर क्षेत्र सुरक्षाविहिन र मानवविहिन रहेको छ ।
समुद्री सतहबाट १२ हजार फिट उचाईमा रहेको व्यास गाउँपालिकाको वडा नम्बर १ तिंकरमा ६५ तथा छांगरुमा १०५ घरधुरी व्यासी समुदायको बसोबास छ । उनीहरु अहिले चिसो छल्न सदरमुकाम खलंगामा बसाई सरेपछि दुबै बस्ती अहिले सुनसान छन् ।
छिमेकी राष्ट् भारत र चीन युद्ध हुँदा देखि नै अर्थात २०२८ सालबाटै उनीहरुको सुरक्षा फौज त्यहि बस्छ । तर झण्डै एक हजार जनसंख्या भएको क्षेत्र साविकको पूरै गाविस तथा अहिलेको पूरै वडा भएको ठाउँमा सुरक्षा उपस्थिती छैन् । अहिले गाउँमा कोही नभएको मौका छोपी तस्करहरुले ट्रान्जीट पोइन्टको रुपमा व्यासलाइ प्रयोग गर्ने गरेका छन् ।