स्थानीय तहलाइ २४ सै घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन

प्रकाशित मिति : बिहिबार, चैत्र ७, २०७५

दार्चुला । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयले छ बुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनको लागि चौबिसे घण्टा जनशक्तिको उचित व्यवस्थापन गरी तयारीको अवस्थामा राख्न निर्देशन दिएको हो ।
हावाहुरीबाट बच्नका लागि दमकल (बारुणयन्त्र) मर्मतसम्भार गर्नुपर्ने अवस्था भए तत्काल मर्मतसम्भार गरी चालू अवस्थामा राख्नुपर्नेे आगलागी तथा डढेलोका घटना घटेको सूचना पाउनसाथ बारुणयन्त्र र जनशक्ति परिचालन गरी क्षति हुन नदिने तर्फ सजकता अपनाउन स्थानीय तहलाई निर्देशन दिइएको छ । यस्तै हावाहुरीको कारणले आगलागी तथा डढेलोको प्रकोप हुन सक्नेबारे स्थानीयलाई जनचेतना जगाउने तथा सजग गराउने, स्थानीय विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति, समुदाय, स्वयंसेवक, नागरिक समाज, निजी क्षेत्र र नागरिकलाई विपद् व्यवस्थापन सम्बन्धमा तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार जिल्ला विपद् व्यवस्थापन समिति तथा सरोकारवाला निकायसँग अग्नि नियन्त्रण सम्बन्धमा समन्वय र सहकार्य गर्नसमेत स्थानीय तहलाई निर्देशन दिइएको छ ।
तर दार्चुलाका सात गाउँपालिका र दुई नगरपालिकामध्ये आठवटै स्थानीय तहसंग बारुणयन्त्र अर्थात दमकल छैन । महाकाली नगरपालिकामा तत्कालीन अपि नगरपालिका हुँदा खरीद भएको दमकल समेत चालक बिहिन अवस्थामा थन्किएको छ । सात गाउँपालिका मध्ये ४ ओटामा यातायात सुचारु भएपनि कुनैपनि स्थानीय तहसँग दमकल छैन । जिल्लाको सबैभन्दा पहिले यातायात सेवाको पहुँचमा पुगेको शैल्यशिखर नगरपालिकाले समेत हालसम्म दमकलको व्यवस्था गर्न सकेको छैन ।
आगलागीको समयमा दमकल अत्यावश्यक भएपनि जिल्लाका ग्रामीण क्षेत्रसम्म सडक यातायातको बिस्तार नै हुन सकेको छैन । सडक र दमकल भएको महाकाली नगरपालिकाको बजार क्षेत्रमा दमकल छिर्ने बाटो नै नहँुदा आगलागी नियन्त्रणमा सबै क्षेत्रमा चुनौती रहेको छ । चैत र वैशाखमा देशभरि नै हावाहुरी र आगलागी हुने गरेको छ । जसको कारण ठूलो भौतिक र जीउधनको क्षति हुने गर्दछ ।
यसैबिच चैत १ गतेदेखी शुरु भएको वन डढेलो नियन्त्रण सप्ताह सम्पन्न भएको छ । आगलागी नियन्त्रणकालागि सचेतना फैलाउने उदेश्यले २०६९ सालदेखि हरेक वर्षको चैत्र १ गतेदेखि चैत्र ७ गतेसम्म वन डढेलो नियन्त्रण सप्ताह मनाइदै आएको छ । वन डढेलो नियन्त्रण सप्ताह अन्तरगत जिल्लाका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गरीएको बन डिभिजन कार्यालय दार्चुलाले जनाएको छ ।