बैतडीबाट ५ खेलाडी प्रदेशका लागि छनोट

प्रकाशित मिति : बिहिबार, चैत्र ७, २०७५

बैतडी (रासस) | प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता खेल्न जिल्लाबाट पाँच खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा दीपक बोहरा, सुनील चन्द, महेश ऐरी, सन्तोष चन्द र केशव साउद रहेका छन् ।

जिल्ला क्रिकेट सङ्घका सदस्य तेजप्रकाश भट्टका अनुसार विभिन्न क्लबबाट सहभागी भएका खेलाडीलाई प्रदेशका लागि छनोट गरिएको हो । छनोट भएका खेलाडीले यही चैत ८ र ९ गते कैलालीको फाप्ला क्रिकेट मैदानमा प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछन् । उक्त प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट छनोट भएर आएका खेलाडीमध्येबाट सुदूरपश्चिमको टोली छनोट गर्न प्रतियोगिता हुने प्रशिक्षक दीपेन्द्र बोहराले बताउनुभयो ।

सुदूरपश्चिमबाट छनोट भएको टोलीले राष्ट्रिय खेलकूद परिषद्ले आयोजना गर्ने यु– १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नेछ । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट एसिसी यु– १६ नेपाली टोलीको छनोट हुने बताइएको छ ।