भन्सारमा कडाइ गरेको भन्दै ब्यापारीको बिरोध, राज्यलाइ कर तिर्न कार्यालयको आग्रह

प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगाका व्यापारीहरु शुक्रबार आन्दोलित भएका छन् । सीमा नाकामा रहेको छोटी भन्सार कार्यालय दार्चुलाले भारतीय बजार धारचुलाबाट दैनिक उपभोग्य सामानहरु आयातमा कडाइ गरेको भन्दै ब्यापारीहरुले बिरोध गरेका हुन् ।
फुटकर दैनिक उपभोग्य सामानहरु कर नतिरेरै ल्याउन पाउनुपर्ने व्यापारीहरुको माग थियो । तर भन्सार कार्यालय खलंगाले बिदेशी बस्तुको आयत–निर्यात गर्दा देशलाइ कर बुझाउँनु हरेक नागरीकको कर्तब्य भएकोले कर तिरेर मात्रै सामानको ओसारपसार गर्न आग्रह गरेको छ । राष्ट्र निर्माणको अभियानमा सहयोग पुर्याउन कर तिर्नुपर्ने भएकोले छिटफुट फुटकर सामान बाहेक राज्यले राजश्व निर्धारण गरेका बस्तुमा कर छली नगर्न भन्सार कार्यालयले अनुरोध गरेको हो ।
दार्चुलाको खलंगा, गल्फै र बंगाबगर बजारमा नेपाली सामाग्री भन्दा बढी भारतीय बजार धारचुलाबाट आयात गरेको सामान बिक्रिबितरण हुदै आएको छ । नेपालबाट समयमै सामान उपलब्ध नहुने र पाएको सामान समेत भारतीय बजारको तुलनामा महगों हुने भएकोले भारतबाट सामान ल्याएर ब्यापारीहरुले बिक्रि गर्ने गरेका छन् ।
बिगतदेखी थोरै परिमाणमा दैनिक उपभोग्य सामान ल्याउदा भन्सार छुट हुने गरेकोमा पछिल्लो समय भन्सार काट्न थालेपछि आन्दोलित हुनुपरेको व्यापारीहरुले बताएका छन् । अनावश्यक चेकजाचँ गर्ने र कर काट्ने गरेकोले आफुहरुलाइ सामग्रीहरु ढुवानीमा असहज भएको व्यापारीहरुको तर्क रहेको छ । नेपाल–भारत जोड्ने सदरमुकाम खलंगास्थित छोटी भन्सार कार्यालयले दैनिक उपभोग्य सामग्रीहरुमा समेत राजस्व तिर्नुपर्ने नियम लगाएर व्यापारी माथि अन्याय गरेको व्यापारीहरुको आरोप छ ।
पछिल्लो सयम छोटी भन्सार कार्यालयले भारतबाट पेय पदार्थहरु, ठुलो मात्रामा खाद्य सामग्रीहरु, तेल, चिनी लगायतका बस्तुको आयातमा समेत रोक लगाएको छ । केही महिना अघि मात्रै गृह मन्त्रालयले भारतीय खानेतेलमा समेत प्रतिबन्ध लगाएको थियो । सरकारले नै भारतीय खानेतलमा प्रतिबन्ध लगाएपछि छोटी भन्सार कार्यालय दार्चुलाले सबै प्रकारको भारतीय खानेतेल आयातमा रोक लगाएको छ । यसरी भन्सारमा विगतको भन्दा कडाई भएको भन्दै व्यापारीहरुले भन्सार कार्यालयमा पुगेर नाराबाजी गरेका हुन् ।
व्यापारीहरुको भीड र विरोध गर्नेहरु थपिदै गएपछि सुरक्षाकर्मी परिचालन भएर स्थिति सामान्य बनेको थियो । पुलघाँटमा स्थिति असामान्य बने पछि व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालयमा वार्ताका लागि बोलाइएको थियो । प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्ट, उद्योग बाणिज्य संघका पदाधीकारीहरु, भन्सारका कर्मचारी र व्यापारीहरुको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा भन्सार र व्यापारीका समस्याबारे छलफल भएको छ । व्यापारीहरुको बिरोधपछि फुटकर दैनिक उपभोग्यका खाद्य सामाग्री भन्सार नकाटेर ल्याउन दिने बिषयमा लचकता अपनाइएको छ । ठुलो परिमाणमा भारतबाट सामान ल्याउदा र एउटै ब्याक्तीले पटकपटक सामान ल्याउदा अनिवार्य भन्सार तिर्न ब्यापारीहरुलाइ आग्रह गरीएको छलफलमा सहभागि सशस्त्र प्रहरी बल गुल्म हेडक्वाटर नम्बर ५० का प्रहरी निरीक्षक ईश्वरीप्रसाद भट्टले बताउँनुभयो । तेल, पेयपदार्थ लगायतका सामानहरु कर नतिरेर ल्याउन नहुने र फुटकर रुपमा उपभोगकालागि ल्याउदा चिनी ५ किलोग्रामसम्म भन्सार छुट गरीने कार्यालयले ब्यवहारीक सहमति जनाएको छ ।
ब्यापारीबाट यसअघि जफत भएको सामाग्री कता गयो भन्ने ब्यापारीहरुको प्रश्नपछि प्रमुख जिल्ला अधिकारी बिष्टले बिगतमा जफत भएको सामान सरोकारवालाहरुको रहोबरमा नष्ट गरीने बताउँनुभएको छ । साथै ब्यापारीक प्रयोजनको सामान ल्याउदा भन्सार तिर्न ब्यापारीहरुलाइ र भन्सार लाग्ने बस्तुको लिस्ट कार्यालयमा सबैले देख्नेगरी लगाउन भन्सार कार्यालयलाइ उहाँले आग्रह गर्नुभएको छ ।
यसैबिच बजारमा ब्यापारीहरुले म्याद नाघेको अखाद्य बस्तुको कारोवार गर्ने र एउटै बस्तुको फरकफरक मुल्य निर्धारण गरेर कालोबजारी गर्ने गरेको गुनसो समेत छलफलका क्रममा उठेको छ । बिगत केहि समययता बजार अनुगमन हुन नसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी बिष्टले कडाइकासाथ बजार अनुगमन गरीने र उपभोक्ता हित बिपरीत कसैलेपनि कालोबजारी गरेको पाइएमा कानुन अनुसार कडा कारवाही गरीने बताउँनुभएको छ ।