सुत्केरीको मृत्युपछि छानविन समित गठन

प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५

धनगढी । सुत्केरीको मृत्युपछि आन्दोलीत मृतकका परिवार र सेती अञ्चल अस्पतालबिच ५ बुँदे सहमती भएको छ। लामाे छलफलपछि मृतकका परिवार र सरकारी पक्षविच ५ बुँदे सहमती भएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सेती अञ्चल अस्पतालका प्रतिनिधि, धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि, पीडित पक्षविच भएको छलफलपछि ५ बुँदे सहमती भएको छ।

सहमती अनुसार मृतक धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ बर्षिया रेखा थापाका छोराको २४ बर्ष सम्म निशुल्क उपचार हुने भएको छ। त्यस्को जिम्मेवारी सेती अञ्चल अस्पताल र सामाजिक विकास मन्त्रालयलाई दिईएको छ। शिशुलाई सामाजिका विकास मन्त्रालय मार्फत शिक्षा प्रदान गर्ने र छिटो उपचारका लागि विशेष परिचयपत्र पनि बनाउने सहमती भएको छ।

यस्तै मृतकका आफन्तले चिकित्सकको लापरवाहीले सुत्केरीको मुत्यु भएको आरोप लगाएकाले छानविनका लागि समिति गठन गर्ने समेत निर्णय भएको छ। सामाजिक विकास मन्त्रालयले एक जना स्त्रीरोग विशेषज्ञ डाक्टर संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट माग गर्ने निर्णय भएको छ।
चैत ४ गते ब्यथालागेपछि सेती अस्पताल धनगढीमा भर्ना भएकी थापाको सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनको पेट सुन्निएको र उपचारमा संलग्न डाक्टरले ग्यास्ट्रिकको कारण देखाउँदै दुई दिन वेवास्ता गरेको आरोप स्थानीयले लगाएका छन्। डाक्टरले बुधबार थापालाई जन्डिस भएको भन्दै उपचार गरेपछि समेत पेट सुन्निने समस्या यथावत रहेपछि बिहिवार विहान मात्रै उपचार सम्भव नभएको भन्दै रेफर गरिएको थियो। कोहलपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा चिकित्सकले लापरवाही गरेको आफन्तले आरोप लगाउँदै आएका छन्।
स्थानीयले हिजाे रातीदेखी अस्पताल घेराउ गर्नुका साथै धनगढी बजार पनि बन्द गराएका थिए।