दार्चुला-तिकंर सडक निर्माणको जिम्मा सेनालाई दिन प्रधानमन्त्रीसंग माग

गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्न माग
प्रकाशित मिति : बुधबार, चैत्र १३, २०७५

दार्चुला। महाकाली काेरिडाेर अन्तरगत उत्तरी छिमेकी मुलुक चीन जोड्ने दार्चुला–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन दार्चुलाबाट प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसंग माग गरेका छन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर दार्चुलाका संघीय संसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीका जनप्रतिनिधिले चीनको ताक्लाकोट जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरिदिन ज्ञापनपत्रमार्फत लिखित अनुरोध गरेका हुन् । ‘विस्फोटक पदार्थको अभाव र ठेकेदारहरूको ढिलासुस्तीले चीन जोड्ने सडक निर्माण कार्यमा ढिलाइ भएकाले आगामी आर्थिक वर्षबाट दार्चुला तिंकर सडक नेपाली सेनामार्फत संचालनका लागि निर्णय गरिदिनुहुन प्रधानमन्त्री केपी सर्मा ओलीलाइ अनुरोध गरिएको प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
नेपाली र भारतीय हिन्दू धर्मावलम्बीको पवित्र धार्मिक तिर्थस्थल कैलास मानसरोवर जोड्ने र चीनसँगको व्यापारिक दृष्टिले पनि महत्वपूर्ण सडक भएकाले तिकंर सडकको निर्माण छिटो होस् भनेर सेनालाई दिन माग गरिएको सांसद ठगुन्नाले बताउनुभयो । बिगत तीन बर्षदेखी विस्फोटक पदार्थको अभावका कारणले सडक निर्माण ढिलाइ भएको र विस्फोटक पदार्थ जिलेटिन नेपाली सेनामार्फत मात्रै प्राप्त हुने भएकाले पनि यो सडक निर्माणको जिम्मा सेनालाई दिनुपर्नेमा सासंद ठगुन्नाले जोड दिनुभयो ।
चालु आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यकासाग १० बर्ष पहिले सुरु भएको १ सय ३५ किलोमिटर लामो खलंगा–तिंकर सडकखण्डको हालसम्म झण्डै ४० किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । व्यास गाउँपालिका क्षेत्रमा सडकको ट्रर्याक खुलाउने काम भइरहेको छ । साथै खलंगादेखी राताकाठासम्म ७ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीको काम भइरहेको दार्चुला तिकंर सडक योजनाले जनाएको छ ।


गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्न माग
दार्चुलाबाट प्रदेश र संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका जनप्रतिनिधिहरूले बिगत २५ बर्षदेखी बन्द रहेको दार्चुलाको एकमात्र गोकुलेश्वरमा रहेको एयरपोर्ट पुनः सञ्चालनमा ल्याउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । लामो समयदेखि क्षतिग्रस्त अवस्थामा रहेकाले त्यो विमानस्थल पुनः सञ्चालनका लागि बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको प्रदेशसभा सदस्य मान बहादुर धामीले बताउँनुभयो ।
जिल्लाकोे आर्थिक, व्यापारीक, पर्यटकीय क्षेत्रको विकासका लागि प्रमुख आधार मानिएको गोकुलेश्वर विमानस्थल सुचारु नहुँदा अहिले नागरिकले कष्टकर रुपमा गाडीको यात्रा गर्नुपरेको छ । जिल्लाको विकास र सम्भावनासँग जोडिएको विमानस्थल द्धन्दकालदेखी सञ्चालन हुन नसक्दा दार्चुलाले ठुलो घाटा बेहोर्नु परेको प्रतिनिधिसभा सदस्य ठगुन्नाले बताउँनुभयो । सिगों दार्चुला जिल्ला र बैतडी जिल्लाको आधाभन्दा बढी भुभागले सजिलै सेवा पाउँने गोकुलेश्वर बिमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै सम्भाबनाहरु ओझेलमा परेका मात्र छैनन, आकस्मीक रुपमा रिफर गर्नुपर्ने बिरामीहरुले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ ।
दार्चुलाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसद गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशी बडाल, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । तस्बिर ः दार्चुलाबाट प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित सासंदहरु दार्चुलाका प्रमुख मागहरुको बारेमा ज्ञापनपत्र मार्फत प्रधानमन्त्री केपी सर्मा ओलीको ध्यानआकर्षण गराउँदै ।