‘जेलको गेटैमा’ सार्वजनिक

प्रकाशित मिति : शनिबार, चैत्र २३, २०७५

काठमाडौं ।

कैदीबन्दीका दुःख र पीडता समेटिएको पहिलो लोक दोहोरी गीत सार्वजनिक भएको छ । उक्त गीतका गीतकार सूर्यबहादुर तामाङले उक्त गीत कैदी बन्दीको भोगाइ समेटिएको पहिलो गीत भएको दाबी गरेका छन् ।

लोक गायक रामजी खाँड र गायिका शान्ति श्री परियारको आवाजमा तयार भएको जेलको गेटैमा बोलका गीतको अडियो एक कार्यक्रमका बिच ललितपुरस्थित नख्खु कारागारभित्रै विमोचन गरिएको छ । यो गीतलाई कारागारबाट बनेको नेपालको इतिहासमा पहिलो गीत भएको दावी गीतकार तामाङले गरेका छन् ।

जेल जीवन बिताएका थुप्रै व्यक्तिले जेल जीवनपछि विभिन्न कृति सार्वजनिक गरे पनि जेल सजाय भुक्तान गरिरहेकै अवस्थामा यस किसिमको गीत बनेको थिएन । बिशाल निरौलाले संगीत संयोजन गरेको गीत तयारका क्रममा कारागार प्रशासन, कारागार सुरक्षा विभाग र कारागार भित्रको आन्तरिक प्रशासनले गरेको सहयोगप्रति गीतकार तामाङले कृतज्ञता प्रकट गरेका छन् ।
नेपाल सरकारले कारागारलाई सजाय भुक्तान गर्ने थलोको रुपमा नभइ सुधार गृहको रुपमा अघि बढाइरहेको अवस्थामा जेल जीवन बिताइरहेका कैदीबन्दी सिर्जनात्मक कार्यमा लाग्नुलाई सकारात्मक रुपमा लिनु पर्ने कारागार अधिकारीहरुको भनाइ छ । यसबाट आफुलाई हौसला तथा प्रेरणा मिलेको गीतकार तामाङले बताए ।

गीतकार तामाङले आफ्नै जेल जीवनको व्यथा र भोगाईका साथै कैदीबन्दीको दुःख पीडालाई गीतमार्फत मर्मस्पर्शी ढंगले पस्किएका छन् ।
नुवाकोट, सूर्यगढी–५ का स्थायीबासी तामाङले गीतको अडियो सार्वजनिकपछि आफुलाई थप हौसला मिलेको बताउँदै अब चाँडैनै उक्त गीतको भिडियो निर्माण गर्ने तयारीमा रहेको जानकारी दिए ।

गीतको भिडियो पनि उनले जेल जीवन बिताइरहेको नख्खु कारागारभित्रै छायांकन हुने र त्यसका लागि प्रशासनिक स्वीकृतिलगायतका विषयमा पहल भइरहेको छ । त्यसपछि यो गीत कारागारभित्र छायांकन गरिएको भिडियोसहितको नेपालकै पहिलो गीत हुने गीतकार तामाङको दावी छ ।