व्यास गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाइने

प्रकाशित मिति : आइतवार, चैत्र २४, २०७५

दार्चुला । व्यास गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाइने भएको छ । विगतदेखि नै आलु उत्पादन हुँदै आएको व्यास गाउँपालिकाभरी आलु खेती लगाएर आलुमा आत्मनिर्भर बनाइन लागेको हो ।
आलुको लागि उपयुक्त हावापानी रहेको व्यास गाउँपालिकाले यो वर्ष हालसम्म दुई मेट्रिक टन आलुको विउँ ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । अझै किसानको मागको आधारमा थप दुई मेट्रिक टन आलुको विउ माग गरिएको गाउँपालिकाको कृषि शाखा सह संयोजक विपी बडुले जानकारी दिनुभयो ।
पहिलो चरणमा किसानलाई पाठशालामार्फत आलु खेती लगाउन शुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खातीगाउँमा कृषक पाशालामार्फत आलु खेती लगाउन थालिएको हो । परम्परागत तरिका र आधुनिक प्रविधिको आधारमा आलु लगाइएको छ, सह संयोजक बडूले भन्नुभयो, आधा रोपनीमा किसानको परम्परागत तरिका र आधा रोपनीमा आधुनिक तरिकामा गरी पहिलो चरणमा नमुनाको रुपमा एक रोपनी खेतमा आलु लगाइएको छ । किसानहरु अझै पनि परम्परागत खेती लगाउन रुचाउने भएको कारण परिक्षणको रुपमा देखाउन यसरी लगाइएको उहाँले बताउँनुभयो । किसानलाई १६ हप्ते पाठशालामा राखेर खेती प्रणालीबारे जानकारी समेत गराइएको छ ।
आगामी वर्ष सबै वडामा पाठशालामार्फत खेती लगाउन सिकाइने बडुको भनाई छ । गाउँपालिकाको वडा नम्बर २ राप्ला माल, वडा नम्बर ३ सीना, वडा नम्बर ४ सुनसेरा, वडा नम्बर ५ धौलाकोट र वडा नम्बर ६ हुतीबाट आलुको विउको अत्यधिक माग भइरहेको छ ।
आधुनिक खेती प्रणालीअन्तर्गत मलखाद सिफारिस, मलखाद परिक्षण, विउको जात परिक्षण, अध्ययन परिक्षणको विधी अपनाइन्छ । यस्तै उन्नतजातमा खेतीमा प्रतिलाइन ६० सेन्टिमिटर लम्बाई र २५ सेन्टिमिटर चौडाईमा आलुको विउँ रोपिने गर्छ । व्यास गाउँपालिकामा खुमाल सेता एक र विजरे गरि दुई जातको आलुको विउँ सिफारिस गरिएको छ । दुई मेट्रिक टन आलु ३५० परिवारलाई वितरण गरिएको छ । अझै त्यो भन्दा बढि माग छ ।
कृषि शाखाले अहिले डडेल्धुराबाट आलुको विउ ढुवानी गरेको छ । विगतमा विउको गुणस्तर नहेरी लगाउने गरेका थियौ, हुतीका किसान मनोरथ भट्टले भन्नुभयो, यो वर्ष प्राविधिकको सहयोगमा सिफारिस गरेअनुसार आलु लगाउँदैछौ । कृषि शाखाले आगामी वर्षदेखि एक वडा एक उत्पादन क्षेत्र तथा पकेट क्षेत्र विस्तार नीति लिएको छ । सोहि अनुसार पाठशाला सञ्चालन र माटो परिक्षण गरिन लागेको जनाइएको छ ।