मार्मामा दुई दिने एकिकृत घुम्ति शिविर

प्रकाशित मिति : आइतवार, चैत्र २४, २०७५

दार्चुला । मार्मा गाउँपालिकाको केन्द्र लटिनाथमा दुई दिने सार्वजनिक सुनुवाइ सहितको एकिकृत घुम्ति शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजना र मार्मा गाउँपालिकाको संयोजनमा शनिबार र आइतबार घुम्ति शिविर सञ्चालन भएको हो । आइतवार सिफारिस पाएर नागरिकता नपाएका स्थानीयलाइ भने सोमबार बिहाँन समेत नागरिकता प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिनभयो ।
शिविरमा २ सय ३४ जनाले नेपाली नागरिकता प्रमाणपत्र, अढाइ सय बढीको संख्यामा फोटो सहितको मतदाता नामावली प्रमाणपत्र, झण्डै एक हजार स्थानीयले स्वास्थ्य, कृषि र पशुसेवा प्राप्त गरेका छन् । घरेलु तथा साना उद्योगका सेवाहरु र महिला तथा बालवालिकाहरुलाइ महिला हिसां, घरेलु हिसां र लैगिकं हिसांको बारेमा अभिमुखीकरण सेवा समेत दिइएको उहाँले बताउँनुभयो ।
स्थानीय सरकार आएपछि गाउँघरमै पहिलो पटक आधादर्जन सेवा सहितको एकिकृत घुम्ति शिविर सञ्चालन भएपछि स्थानीय सेवाग्राही निकै खुसी भएका छन् । नागरिकता लिन मात्रै हजारौँ रुपैँया खर्चेर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेकोमा शिविर सञ्चालन भएपछि युवादेखी बृद्धबृद्धाहरुले गाउँमै सेवा पाउदा राहत महसुस भएको स्थानीय खेमराज जोशीको भनाइ छ । शारीरिक, आर्थिक र पारिवारिक समस्याका कारण सदरमुकामसम्म गएर नागरिकता बनाउँन नसकेकाहरुले समेत गाउँपालिकाको केन्द्रमा सञ्चालन भएको शिविरबाट सेवा पाएको जोशीले बताउँनुभयो ।