दार्चुलासहित सुदूरपश्चिमका भारतीय नाका ७२ घण्टाका लागि बन्द

प्रकाशित मिति : मङ्लबार, चैत्र २६, २०७५

दार्चुला । दार्चुला सहित सुदूरपश्चिमका सबै भारतीय नाका तीन दिनका लागि बन्द भएका छन् । भारतमा अप्रेल ११, चैत २८ गते लोकसभा निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षा सतर्कताका लागि २५ गते बेलुकी ५ बजेदेखी नाका बन्द गरिएको हो ।
गत साता पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले निर्वाचनको समयमा २६ गतेदेखी सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आयोगको निर्देशन भन्दै भारतीय पक्षले २५ गते बेलुकीदेखी नै सीमा नाकाहरु बन्द गरिदिदा स्थानीय समस्यामा परेका छन् । भारतको धारचुला हुदै दार्चुला आउँन लागेका दर्जनौ दार्चुलाबासी सीमा बन्द भएपछि धारचुलामा बसेका छन् । प्रशसनले २६ गतेदेखी सीमा बन्द हुने जानकारी गराएकोमा २५ गते नै सीमा सिल भएपछि स्थानीय समस्यामा परेका हुन् ।
भारतमा हुन लागेको लोकसभा निर्वाचनमा दार्चुला र बैतडी सँग सीमा जोडिएका आधा दर्जन झोलुंगे पूलहरु तीन दिन बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको लाली, दत्तु, जौलजीवि, खलंगा, तिग्रंम पुल र सीतापूल नाका निर्वाचन अघि बन्द भएका छन् । यस्तै कैलाली र कञ्चनपुरका सीमा नाका समेत निर्वाचनको समयमा बन्द हुदैछन् ।