सुदूरपहाडमा बिसु पर्वको रौनकता

प्रकाशित मिति : आइतवार, बैशाख १, २०७६

दार्चुला । नयाँ बर्षलाई स्वागत गर्न मनाइने बिसु पर्वको रमझमले दार्चुलालगायत सुदुरपश्चिमका पहाडि जिल्लाका गाँउगाउँमा चहलपहल बढेको छ । नयाँ वर्षको स्वागत र जाने बर्षको विदाई स्वरुप यहाका मानिसहरुले बिसु पर्व लाई विषेश रुपमा मनाउने गरेका छन । विसु पर्वको लागि घर जाने तथा आउनेहरुको भारतिय सिमानाका र बसपार्क क्षेत्रमा केहि दिनयता दिनहु भीड लाग्ने गरेको छ ।
विसु पर्व विशेषगरी सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । दार्चुला, बैतडी, अछाम, डोटी, डडेल्धुरा, बंझाङ, र बाजुरामा यो पर्व वैशाख १ गते आजकै दिन मनाउने प्रचलन छ । कामको लागि बाहिर गएकाहरु बिसु पर्वको लागि घर फर्किएका छन् भने चेलीबेटीहरु माइती घर गएका छन् ।
नयाँ वर्षको पहिलो दिन देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइदैछ । देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ । हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परीकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ ।
बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गरिएका छन् । दार्चुलाको स्थानीय भाषामा घर छिप्ने भन्ने गरिन्छ । विशेष गरी घर छिप्ने कार्यमा महिलाहरु सक्रिय हुन्छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । बैशाख सुरु भएसँगै रोग ब्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घर परिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा नयाँ वर्षलाई बिसु पर्व मानेर खुशीयाली मनाउने चलन छ । बढि जसो भारत गएकाहरु बिसु मनाउन घर फर्किएपछि गाउँघरमा चहलपहल बढेको छ । यहाँका गाउँगाउँमा नयाँ बर्ष २०७६ सालको शुभकामना आदानप्रदान गर्ने र सिस्नोपानी लगाउँने लगायतका गतिबिधि भइरहेका छन् ।
दार्चुलाको मार्मा, नौगाड र अपी हिमाल गाउँपालीकाहरुमा बिषु पर्बका अवसरमा जात्रा समेत लाग्ने गरेको छ । मार्मा क्षेत्रको महान पर्वको रुपमा रहेको विशु जात्रा आजबाट सुरु भएको छ । हरेक नँया बर्षको सुरुसँगै मनाईने यो जात्रा मार्मा क्षत्रको साविकका खार, ईयरकोट, सिप्टी, लटिनाथ, गुल्जरल गायतका क्षेत्रमा धुमधामकासाँथ बिशुजात्रा मनाईने प्रचलन रही आएको छ ।
आज विहानैबाट सबैले नुहाइ मिठामिठा खानाका परीकारहरु पकाएर खाने तथा आफ्नो छरछिमेकमा बाँड्ने र नयाँ नयाँ लुगा लगाएर साँथि भाई जमघट हुनाले पुरै बर्षभरी नै सुभ वित्ने जन विश्वास रही आएको छ । जात्रामा दामाहा बजाउँने, डेउडा खेल्ने, इष्टकुल देबताका मन्दीरहरुमा पुजाआजा गर्ने, बिभिन्न अन्न चढाउँने र एक आपसमा खुसी साटासाटगरी बिशुजात्रा मनाइदैछ । बिगत बर्षहरुकोभन्दा भक्तजनहरु तथा ब्यपारीहरुको चहलपहल बढेको छ ।

फाइल फाेटाे