सुदूरपश्चिमका ९ जिल्लामै नेकपाका अध्यक्ष र सचिव चयन, दार्चुलामा खत्री अध्यक्ष, जोशी सचिब

दार्चुलामा गणेशसिह खत्री अध्यक्ष, रामदत्त जोशी सचिब
प्रकाशित मिति : सोमवार, बैशाख ९, २०७६

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्ला सहित देशका ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
तत्कालिन एमालेबाट जिल्ला अध्यक्ष भए माओवादीबाट सचिव बनाइएको छ भने माओवादीबाट जिल्ला अध्यक्ष भए एमालेबाट सचिव बनाईएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ५ जिल्लामा तत्कालिन नेकपा एमालेले जिल्ला अध्यक्ष पाएको छ भने ४ जिल्लामा तत्कालिन माओवादीले अध्यक्ष पाएको छ । कैलाली, डोटी, अछाम, बैतडी र बाजुरा जिल्लामा तत्कालिन एमालेले अध्यक्ष पाउदा कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङ जिल्लामा तत्कालिन माओवादीबाट अध्यक्ष भएका छन् ।

दार्चुला जिल्लामा तत्कालिन नेकपा माओबादीका जिल्ला संयोजक गणेशसिह खत्रीलाइ अध्यक्षको जिम्मेवारी दिइएको छ । तत्कालिन नेकपा एमाले जिल्ला अध्यक्ष रहनुभएका रामदत्त जोशीलाइ जिल्ला सचिवको जिम्मेवारी दिइएको छ ।

यस्तै कैलाली जिल्लामा तत्कालिन एमालेका जिल्ला उपाध्यक्ष रतन थापालाई अध्यक्षको जिम्मेवारी दिईने भएको छ । तत्कालिन जिल्ला अध्यक्ष दीर्घ सोडारी कारवाहीमा परेकाले उपाध्यक्ष थापाले अध्यक्षको जिम्मेवारी पाएका छन् । कञ्चनपुरमा तत्कालिन माओवादीबाट विरवहादुर थापा, डडेल्धुरामा मानसिह माल, बैतडीमा सुरेन्द्र पाल, डोटीमा चक्र मल्ल, अछाममा शेरवहादुर कुँवर, बाजुरामा कालीवहादुर शाही र बझाङमा मिनवहादुर कुँवरलाई अध्यक्षको जिम्मेवारी दिईएको छ ।
यस्तै सचिवमा कैलालीमा लालवहादुर सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा शैलेन्द्र विक, अछाममा झपट साउँद, बाजुरामा भरतवहादुर बुढा, डडेल्धुरामा तारा जोशी, बैतडीमा प्रेम भट्ट र बझाङमा दिलवहादुर सिंहलाइ जिम्मेवारी दिइएको छ ।