अध्यापक तथा कर्मचारीले दश महिनादेखी तलब पाएनन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ ओटा आङ्गिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले साउँनदेखीकाे तलब पाएनन
प्रकाशित मिति : शुक्रबार, बैशाख १३, २०७६

दार्चुला । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ ओटा आङ्गिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् । २०७४ असोज २ गते नेपाल सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका दरबन्दी स्वीकृत गरेको थियो । स्वीकृत दरबन्दी अनुसार १४ ओटै क्याम्पसमा कार्यरत ३ सय ३४ प्राध्यापक तथा कर्मचारीले साउँन महिनादेखीको नियुक्तिपत्र पाएपनि तलब नपाएका हुन् ।
नियुक्ती पाएको साढे नौँ महिना बितेपनि अहिलेसम्म तलब पाउन नसकेको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राद्यापक रमेशचन्द्र जोशीले जानकारी दिनुभयो । विश्वविद्यालय अन्तरगत स्नातक तह प्रथम बर्ष प्रथम सेमिस्टरको परिक्षा समेत अन्तिम चरणमा पुगेको छ । परिक्षा सकिए लगत्तै तलब नपाए प्राद्यापक कर्मचारीहरु आन्दोलित हुने उपप्राद्यापक जोशीको भनाइ छ ।
विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीपनका कारण प्राध्यापक तथा कर्मचारीले अहिलेसम्म तलब नपाउँदा समस्या भएको प्राध्यापक कर्मचारीको गुनासो छ । प्राध्यापक तथा कर्मचारीले नौँ महीनासम्म पनि तलब नपाउँदा विश्वविद्यालयले कुनै चासो दिएको छैन, दार्चुला बहुमुखी क्याम्पस खलंगाका प्राद्यापक संघ क्याम्पस इकाई समिति सभापती करनसिह साउँदले भन्नुभयो, क्याम्पसले पेश्कीबाफतको रकम दिएपनि विश्वविद्यालयबाट पाउँनुपर्ने तलब अहिलेसम्म पाएका छैनौ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राद्यापक संघ सभापती उत्तम बहादुर थापाले समेत तलब नपाउँदा प्राद्यापक कर्मचारीहरुले लामो समयदेखी समस्या भोग्नुपरेको भन्दै तलब निकासाको माग गर्नुभएको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अधिकासं समय आन्दोलन, तालाबन्दी हुने गरेको कारण शैक्षिक वातावरण धमेलिएको छ । गत चैत महिनामा विश्वविद्यालयको कायम–मुकायम उपकूलपतिको नियुक्ति विज्ञान तथा प्रविधि संकायका डीन पुर्णबहादुर चन्दले पाएपनि चैत २७ गतेदेखी नै नेबिसंघले तालाबन्दी गरेपछि कार्यसम्पादन हुन सकेको छैन् । विश्वविद्यालयका उपकूलपति भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टले आर्थिक, नैतीक र प्रशासनिक अनियमितता गरेको आरोप लागेपछि कूलपतिले सिनेट बाट सफाई नहुन्जेल सम्मका लागि तीन महिना अघि पदबाट हटाउनुभएको छ । सिनेट बैठक बसाल्नुका साथै नियमित कार्यसम्पादनकालागि प्रधानमन्त्री कार्यालयले गत महिना कायम–मुकायम उपकूलपतिमा डा.पुर्णबहादुर चन्द र रजिस्टारमा डा.गोविन्द बिष्टलाई नियुक्त गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगबाट यसअघिनै तलब वाफतको रकम आइसकेको छ, कायममुकायम रजिष्टार बिष्टले भन्नुभयो, आफुहरुले नियुक्ती पाएको केहि दिनमै क्याम्पसमा तालाबन्दी भएका कारण आर्थिक फाइल हेर्न पाएका छैनौ, तालाबन्दी खुलेपछि तलब निकासा लगायत बिषयमा छलफल गर्ने तयारी छ ।
सुदूरपश्चिम प्रदेशका दार्चुला बहुमुखी क्याम्पस, गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला, जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी बैतडी, पाटन बहुमुखी क्याम्पस बैतडी, मणिलेक क्याम्पस मेलौली बैतडी, जयपृथ्वी बहुमुखी क्याम्पस बझाङ, बाजुरा क्याम्पस बाजुरा, बडिमालिका क्याम्पस बाजुरा, त्रिवेणी जनता बहुमुखी क्याम्पस बयलपाटा अछाम, बहुमुखी क्याम्पस जोगबुढा डडेल्धुरा, सीताराम बहुमुखी क्याम्पस डोटी, सेतीमहाकाली बहुमुखी क्याम्पस डोटी, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस कैलाली र टीकापुर बहुमुखी क्याम्पस कैलालीमा कार्यरत प्राध्यापक तथा कर्मचारीले साउँनदेखीको तलब पाएका छैनन् । विश्वविद्यालय अन्तरगत कुल पाचँसय बढी प्राद्यापक, कर्मचारी कार्यरत रहेका छन् ।