दार्चुलाकाे व्यास र मार्मा सहित सुदूरपश्मिका २१ स्थानीय तहमा १५ शैय्याका अस्पताल बन्दै

पाँच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने
प्रकाशित मिति : शनिबार, बैशाख २१, २०७६

दार्चुला । पाँच बर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने भएका छन् ।

निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो ।

जसमा पहिलो चरणमा सुदूरपश्चिम प्रदेशको दार्चुलाका व्यास गाउँपालिकास्थित हुती स्वास्थ्य चौकी र मार्मा गाउँपालिकास्थित लटिनाथ स्वास्थ्य चौकी गरि २ ओटा, कैलालीमा ४ स्थानीय तहमा, कञ्चनपुर र डोटीका ३÷३ स्थानीय तहमा, डडेल्धुरमा १ स्थानीय तहमा, अछाम, बझाङ, बाजुरा र बैतडीका २÷२ स्थानीय तहमा गरि २१ वटा स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको छ ।
आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा उल्लेख छ ।
पहिलो चरणमा देशभरीका २ सय ५१ स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
‘जनघनत्व, बहिरङ्ग सेवाको चाँप, अन्य अस्पतालसँगको दुरी र प्राथमिक स्वास्थ्य केन्द्रहरु मध्ये अस्पताल नरहेका, सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थालाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्न आवश्यक छ, उनले भन्नुभयो, ‘एउटा अस्पताल निर्माण एवं स्तरोन्नतिको लागि साढे ३ करोडदेखि ७ करोड रुपैयाँ सम्म बजेट लाग्ने अनुमान गरिएको छ ।
स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा २ सय ५१ स्थानीय तहबाट निवेदन परेको छ । योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५÷०७६ मा सरकारले ७५ करोड बजेट विनियोजन गरेको जनाएको छ ।