यार्सा सङ्कलन गर्न लेकतिर, विद्यालय तीन महिना बन्द

प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६

बझाङ । विगत वर्षजस्तै यो वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् ।

तीन महिना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताए । यहाँका धेरैजसो स्थानीयवासीले यार्सा सङ्कलनबाटै सदरमुकाम चैनपुर, धनगढी (कैलाली) महेन्द्रनगर (कञ्चनपुर) काठमाडौँसम्म घर तथा जग्गा खरीद गरिसकेका छन् ।

अहिले लेकमा हिउँ भएको भए पनि तल्लो भेगतिर यार्सा पाइन थालेपछि लेकतिर जान थालेका हुन् । वैशाखको पहिलो सातादेखि लेकतिर जाने गरेका यहाँका स्थानीयवासी असारको अन्तिमतिर मात्र घर फर्किन थाल्छन् । सुर्मा, साइपाल गाउँपालिकाका स्थानीयवासी अहिलेको ‘सिजन’मा घरमा ताला लगाएर यार्सा सङ्कलन गर्न जाने गरेको गाउँपालिकाका पे्रमबहादुर बोहराले बताए ।

यहाँ पाखो जमिन भएका कारण उब्जनी नहुने र तीन महीना यार्सा सङ्कलन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सुत्केरी महिला, हिँडडुल गर्न नसक्ने वृद्धवृद्धा र ससाना हिँडडुल गर्न नसक्ने बालबालिकाबाहेक सबै अहिलेको सिजनमा यार्सा सङ्कलनका लागि लेकतिर लागेको स्थानीय कलकबहादुर बोहराले बताए ।

गाउँ नै शून्य बनाएर अहिले यहाँका स्थानीय यार्सा सङ्कलनका लागि लेकतिर गएको उनले जानकारी दिए । विगतका वर्षहरुभन्दा क्रमिकरूपमा यार्साको उत्पादन घट्दै गएको उनको भनाइ छ ।

विद्यालय बन्द

सरकारले कुनै पनि पढ्ने उमेरका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर देशव्यापी भर्ना अभियान चलाइरहेकै बेला बझाङका धेरैजसो सरकारी विद्यालय तीन महिनाका लागि बन्द भएका छन् ।

विद्यालयमा पढ्ने उमेरका सबै विद्यार्थी र अभिभावकसमेत यार्सागुम्बा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि बन्द भएका हुन् ।

जिल्लाका साइपाल, सुर्मा गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् भने तल्कोट गाउँपालिका, बुङ्गल नगरपालिकाका केही विद्यालयसमेत बन्द भएका छन् ।

अझै केही विद्यालय यसै महिनाको अन्तसम्ममा बन्द हुनसक्ने साइपाल गाउँपालिकाका स्थानीयवासी वसन्त बोहराले बताए । चैतको वार्षिक परीक्षा सकिएदेखि नै विद्यालय बन्द भएको उनले बताए ।

-फाइल फाेटाे