सुदूरपश्चिम प्रदेश सरकारकाे बजेट खर्च १५ प्रतिशत मात्रै

तीस अर्ब बढीको बजेट ल्याउँदै प्रदेश सरकार
प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६

कैलाली । चालु आर्थिक वर्षको अन्तिम दुइ महिना बाँकी हुँदा सुदूरपश्चिम सरकारले २० प्रतिशतकाे हाराहारीमा मात्र बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चैत मसान्तसम्म पुँजीगत तर्फ १३.२७ प्रतिशत र चालुतर्फ १७.३७ प्रतिशत बजेट खर्च भएको छ । १ अर्ब ५५ करोड ५२ लाख पुँजीगत र २ अर्ब १२ करोड ९१ लाख चालु बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएकाे छ ।

आर्थिक वर्षको अन्त्यतिर आइपुग्दासमेत प्रदेश सरकारले प्रदेश बस सेवा संचालन, औद्योगिक ग्राम स्थापना, पर्यटन बोर्ड, प्रदेश विद्युत विकास बोर्ड गठन लगायत सरकारले लोकप्रिय भनेर बजेटमा समावेश गरेका कार्यक्रम कार्यान्वयनमै जान सकेकाे अवस्था छैन् ।

प्रदेश सरकारले चालु वर्षका लागि ल्याएको २५ अर्ब ६ करोड ५६ लाख बजेटमध्ये ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैयाँ पूँजीगततर्फ विनियोजन गरेको थियो । सरकारले भने कर्मचारी अभावका कारण बजेट कार्यान्वयनमा समस्या भएको बताउँदै आएको छ ।

बजेट खर्च नभएकाे बिषयमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले भने बजेट खर्च नहुनुमा प्रदेश सरकार नभइ संघीय सरकार दोषी रहेको छ । संघीय सरकारले कर्मचारी नपठाउँदा बजेट खर्च हुन नसकेको उनले बताउँनुभयाे ।

कार्यान्वयनमा रहेका योजनाहरुको भुक्तानी बाँकी रहेकाले पनि वित्तीय खर्च कम देखिएको बताउँदै उहाँले असार मसान्सम्म बजेट ६० प्रतिशत नाघ्ने दावी गर्नुभएकाे छ ।

यता सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत दार्चुलामा चालु आर्थिक वर्षको बितेका दश महिनामा चालुतर्फ २९ प्रतिशत र पूजीगततर्फ करिब ११ प्रतिशत मात्रै अर्थात चालुतर्फ १२ करोड ३१ लाख ३५ हजार र पूजीगततर्फ ३१ करोड २१ लाख २८ हजार बजेट खर्च भएकाे छ ।

३० अर्ब बढीको बजेट ल्याउँदै प्रदेश सरकार

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् ।

कृषिमा प्रदेशलाई ३ वर्षभित्र आत्मनिर्भर बनाउने गरी कृषिका नीति तथा कार्यक्रम बजेटमा समावेश गरिने मन्त्री बोहराको भनाइ छ । यस्तै उनले उद्योग, कलकारखाना स्थापनामा प्रदेशले दिन सक्ने छुट दिइने नीति बजेटले लिने बताएका छन् ।

‘प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजना ल्याउँदै छ । पञ्चवर्षीय योजनालाई सहयोग पुग्ने र प्रदेशको विकासका लागि महत्वपूर्ण योजनाहरू बजेटमा समावेश गर्छौं,’ उहाँले भन्नुभयाे, ‘विशेष औद्योगिक क्षेत्रको खाका बनाउन पनि कार्यक्रम ल्याउँछौँ ।’प्रदेशको स्थायी राजधानीमा संरचना निर्माणका लागि पनि सरकारले आगामी वर्षको बजेटमा रकम छुट्याउने मन्त्री बोहराले जानकारी दिनुभयाे ।

आगामी वर्ष प्रदेशमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारीमा पनि सरकार रहेको उहाँले बताउनुभयाे ।