गाेकुलेश्वरका ६५ बर्षीय लालसिंह बिष्ट विद्यालय भर्ना

प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६

दार्चुला। नेपाल सरकारले सबैलाइ अनिवार्य निःशुल्क आधारभुत शिक्षा प्रदान गर्ने उदेश्यले विद्यालय उमेर समुहका सबै वालवालिकाहरुलाइ विद्यालय भर्ना गर्न तथा आर्थिक अवस्था कमजोर भएका वालवालिकाको अभिभावकत्व ग्रहण गर्न अभियान नै सञ्चालन गरेको छ । दुई बर्षभित्रै साक्षर नेपाल घोषणाको तयारी समेत सरकारको छ ।
सरकारले भर्ना तथा साक्षर अभियान सञ्चालन गरिरहेको बेला शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का स्थानिय ६५ बर्षीय लालसिंह बिष्ट औपचारीक शिक्षा आर्जन गर्ने भन्दै नर्शरी कक्षामा भर्ना भएका छन् । शैल्यशिखर आधारभूत विद्यालयमा ४ बर्षीया नातिनी मनिषा विष्टलाई भर्ना गर्न गएका बिष्ट बिहिबार नातिनी संगै आफुपनि विद्यालय भर्ना भएका हुन् । विद्यालय भर्ना हुन पुगेका बिष्टलाइ विद्यालय परिवारले फुलमाला लगाएर विद्यालयमा स्वागत गरेको शैल्यसिखर नगरपालिकाका शिक्षाशाखा संयोजक सुरेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।
ज्ञान आर्जन गर्न उमेरले छेक्दैन भन्ने महसुस गरेर भर्ना हुन आएका वृद्ध व्यक्तिको पढ्ने रहर देखेर खुसी लागेको संयोजक बिष्टले बताउँनुभयो । विद्यालय भर्ना भएका वृद्ध बिष्टको पढाई खर्च व्यहोर्ने भन्दै शैल्यसिखर नगरपाकिलका ५ का वडा सचिव मोहनसिंह डाँगाले अभिभावकत्व ग्रहण गरेका छन् । बिहिबार वडा सचिव डाँगाले बिष्टलाई विद्यालय पोसाक, कापी, कलम, झोला लगायतका सामाग्री प्रदान गरी अविभाकत्व ग्रहण गरेका हुन् ।
सानो उमेरमा पढाइ गर्नुपर्छ भन्ने जानकारी भएन, अहिलेको जस्तो नजिक विद्यालय समेत थिएनन्, पढ्नु भन्दा कमाउँनुपर्छ भन्ने त्यतिबेलाको सोचका कारण विद्यालय जान पाइएन, अहिले छोरीसंगै विद्यालय जादा उसलाइ पनि साहारा हुने र आफुले समेत शिक्षा पाउँने सोचेर विद्यालय भर्ना भएको वृद्ध लालसिंह बिष्टले बताउँनुभयो । स्वास्थ्यले साथ दिदासम्म नियमित विद्यालय गएर पढाइ गर्ने बिष्टको भनाइ छ ।
विद्यालय जाने इच्छया भएर समेत पढ्न नपाएका र शिक्षाको उज्यालो घामको महत्त नबुझेका हरुकालागि बिष्ट प्रेरणाको श्रोत समेत बन्नुभएको छ । जीवनमा शिक्षाको महत्त धेरै ठुलो भएकोले औपचारीक, अनौपचारीक शिक्षा सबैले ग्रहण गर्नुपर्ने उहाँको सन्देश छ ।