ओझेलमा ऐतिहासिक उकु महल, संरक्षणको पर्खाइ

प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६

दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा रहेको पुरातात्विक, प्रचीन, ऐतिहासिक श्री उकु महलको भग्नावशेष संरक्षण तथा पुन. निमार्णको पर्खाइमा छ ।
मध्यकालीन कत्युरी राजाहरुको राज्य अन्तरगत पर्ने महत्तपुर्ण उक्त महल कुनै कारण भत्किन गइ भग्नाबशेषमा परिणत भएको किम्बदन्ती पाइन्छ । उकु महलको अध्ययन, अन्वेषण, अनुसन्धान र उत्खनन् गर्नसकेमा दार्चुलाकै ऐतिहासिक उपलब्धि हुनुका साथै पर्यटकिय गन्तब्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ । “उकु महल क्षेत्रमा ठुलो संख्यामा कलात्मक शिलाहरु छरिएका छन् । देबीदेवताका मूर्तिहरु, आमलक, शिखर गजुरका अर्ध भागहरु, ढुगेंधारा, नाग, बसाह, सिहं, चक्रशिलासहित थरिथरिका आकृतिहरु बिभिन्न शिलामा कुदिएको स्पष्टै देख्न सकिन्छ ।”
महाकाली किनारमा अवस्थित ऐतिहासिक उकु कत्युरी राजाहरुको राजधानी भएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले बताउँनुभयो । महल क्षेत्रमा कोटघर, देबस्थल, दरवारका मजबुद किल्लाहरु, ढुगांमा कुदिएका बिभिन्न भगवानका मुर्तीहरु, विभिन्न आकृतिका ढुगांहरुले मध्यकालका शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा भएको यि ऐतिहासिक दस्ताबेजहरुले पृष्टी गरेको अध्यक्ष धामीको भनाइ छ ।
उकुको ऐतिहासिक सम्बन्ध सिमावर्ती भारतको अस्कोट संग रहेको देखीन्छ । अस्कोटको इतिहासअनुसार सन् १२७९ मा अभयपाल रणचुलाहाट स्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए र अभयपालले वरपरका विभिन्न असी वटा कोटहरुको एकिकरण गरेर अस्कोट नामाङकरण गरेको किम्वदन्ती छ । पाल राजाहरुलाइ रजवार भन्ने गरिन्छ । बाह्र वटा बिभिन्न राजाहरुको प्रमुख राजालाइ रजवार भन्ने गरिन्थ्यो । दार्चुलाकै देथलाको पाल राज्य भन्ने बाह्र राजाहरुमा सम्मेलित थियो भन्ने बुझाइ पाइन्छ ।
अहिले कलाकृति र शिलालेख संरक्षण अभाबमा मेटिदै जाँदा स्पष्ट पढ्न सकिने अवस्थामा छैन् । नेपाल पुरातत्व विभागका पुरातत्वविद् नबराज अधिकारीले पहिलो पटक २०६३÷०६४ मा दार्चुलाको स्थलगत अध्ययन गर्दा बोहोरीगाउँको देवल मन्दीरको भग्नाबशेष, खरकडाको देवल र सिलालेख र उकु दरवारका बिषयमा अध्ययन गरेपश्चात उकु मन्दीरको भग्नावशेषलाइ “क” बर्गको सूचिमा उल्लेख गरेको पाइन्छ ।
महाकाली नदीको तटदेखि उकु गाउँको शिरानसम्म छरिएका प्राचिन, आकर्षक बस्तुहरुको अभिलेखीकरण गर्नु अपरीहार्य रहेको गाउँपालिका अध्यक्ष धामीको भनाइ छ । कलात्मक शिलाको आकृति÷प्रकृति अनुरुप बिभिन्न समूहमा बर्गीकरण गरी सबै सामाग्रीको फोटोग्राफीसहित बिस्तृत अभिलेख राख्नुपर्ने टड्कारो आबश्यकता रहेको कारण यसै बर्ष भग्नावशेषहरु संकलन गरेर ट्रस्टमा राख्ने गाउँपालिकाको योजना रहेको उहाँको भनाइ छ ।
बिस्तृत अध्ययनपछि ड्रइङ डिजाइन बनाइ सुर्खेतको काक्रेबिहार जस्तै एउटा मन्दिरको स्वरुप दिनसकिने सम्भावना प्रशस्तै भएकोले पुरातत्व विभागको ध्यान पुग्नु जरुरी रहेको स्थानीयको माग छ । चालु आर्थीक बर्षमा मालिकार्जुन गाउँपालिकाले ७ लाख रुपैँया खर्च गरेर महल क्षेत्रका आकृतिहरुलाइ व्यवस्थित गर्न संरचना निर्माण गरेको छ । ट्रस्ट निर्र्माण गर्ने योजना भएपनि गलत प्राविधिक स्टमेटका कारण आवश्यकता अनुसारको संरचना बन्न नसकेको मालिकार्जुन गाउँपालिका ६ का वडाअध्यक्ष गोपाल सिह धामीले बताउँनुभयो ।
अहिलेसम्मपनि उकु क्षेत्रको आशिंक मूर्तिकला भएको बाहेक थप नयाँ कुरा प्रकासमा आउन सकेको छैन । उत्तराखन्डका केहि स्मारक क्षेत्रहरुको तुलनात्मक अध्ययन गरेर ऐतिहासीक तथ्यहरु खेजि गर्न सकिने जानकारहरु बताउँछन् । यस पुरातात्विक मन्दिरको अध्ययन, अनुसन्धान र पुननिमार्णका लागि गाउँपालिका, प्रदेश र संघिय सरकारको आर्थीक भौतिक सहयोग आबश्यक रहेको छ । “पुरातत्व बिभागले प्रार्थमिकताका साथ आफ्नो अध्ययन, अनुसन्धान, उत्खनन् र पुननिमार्ण योजना भित्र राखेर तत्काल काम थाल्न सके धार्मीक ऐतिहासिक मात्रै नभइ पर्यटकिय क्षेत्रको बिसाल सम्भाबनाको ढोका खुल्ने स्थानीय हेमन्त पालको भनाइ छ ।” महलको संरक्षण गर्न सकिए आन्तरिक र बाह्य पर्यटक प्रशस्त मात्रामा भित्रिने ठुलो सम्भावना रहेको छ ।