दार्चुलाका छ वटा स्थानीय तह भाडाका भवनमा

प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६

दार्चुला । स्थानीय तह गठन भएको दुई बर्ष हुँदा समेत अधिकासं स्थानीय तहहरुले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । नौँ वटा स्थानीय तह रहेको दार्चुलाका छ वटा स्थानीय तह भाडाका भवनमा सञ्चालीत छन् ।
लेकम, अपी हिमाल, व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिकाको आफ्नै भवन नहुँदा नियमित कामकाजमा समस्या सिर्जना हुँदै आएको छ । शैल्यसिखर नगरपालिका समेत साविकको गोकुलेश्वर गाबिसको भवनमा सञ्चालन भएकोले शाखा कार्यालयहरु स्थापना र प्रशासकिन कामकाज गर्न ठाउँ अभाब रहेको नगरप्रबक्ता माधबराज भट्टले बताउँनुभयो । सदरमुकामस्थित जिल्लाको सबैभन्दा जेठो नगरपालिका महाकाली नगरपालिकाले आफ्नै भवन निर्माण गर्न नसकेर निजामती कर्मचारी आवास गृहबाट कार्यसम्पादन गरिरहेको छ ।
लेकम गाउँपालिकाले गल्लाकेदार माबि खरकडाको पुरानो भवनका कोठाहरु मर्मत गरि कार्यालय स्थापना गरेको छ । गाउँपालिकाले विद्यालय भवन, साविकको गाविस भवन तथा स्थानीयको दुई वटा घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउँनुभयो । गाउँपालिकाको निर्णय अनुसार नेपाल सरकार, मन्त्रीपरिषदले लेकम गाउँपालिकाको केन्द्र खरकडाबाट रातामाटा कायम गरेपछि राटामाटामा पाठक परिवारले गाउँपालिकालाइ जमिन दान गरेर नामसारी समेत भइसकेको छ । तर भवन निर्माण नहुदा अहिलेपनि वडा नम्बर ४ को कार्यालय खरकडाबाटै कार्यसम्पादन भइरहेको छ ।
अपी हिमाल गाउँपालिका खण्डेश्वरी माध्यमिक विद्यालयको भवनमा बसेको छ । विद्यालयको पुरानो भवन मर्मत गरेर कार्यालय सञ्चालन गरेको भएपनि बर्षा र हिमपात भइरहने तथा हावाहुरी चलिरहने समस्याका कारण गाउँपालिका केन्द्र खण्डेश्वरीमा कच्ची भवनमा काम गर्न निकै समस्या रहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउँनुभयो । भवन निर्माणको लागि भन्दै गाउँपालिकालाई स्थानीयले २२ रोपनी जमिन गत वर्ष नै दान गरिसकेका छन् । तर अहिलेसम्म भवन निर्माणको काम हुन नसकेको छैन् ।
मालिकार्जुन गाउँपालिकाको केन्द्र शंकरपुरमा पनि पालिकाको आफ्नै भवन छैन् । सबैलाई पायक पर्ने भन्दै शंकरपुरमा केन्द्र कायम गरेपनि भवन नहुँदा समस्या छ, गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिह धामीले भन्नुभयो, अहिले गाउँपालिकाले स्थानीयको ६ कोठे घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ । विषयगत शाखाहरु सञ्चालन गर्न प्रयाप्त ठाउँ नपुगेकोले कार्यालयको काम गर्ने कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाइ समेत समस्या हुने गरेको उहाँले बताउँनुभयो । भवन निर्माणको लागि सरकारले सबै ठाउँमा एउटै मापदण्ड लागु हुने बताएपनि ढिलाइ गरेको कारण अहिलेसम्म भवन निर्माण गर्न नसकिएको जनप्रतिनिधिहरुको प्रतिक्रिया छ ।
व्यास गाउँपालिका पनि स्थानीयको घर भाडामा लिएर सञ्चालन गरिएको छ । १२ कोठे घर भएका दुई जनाको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता धिरनसिह बुढाथोकीले बताउनुभयो । गाउँपालिकाको आफ्नै भवन निर्माणको लागि जमिन खोजी भइरहेको उहाँको भनाइ छ । आफ्नै भवन निर्माण नहुदा स्थानीय तहको लाखौँ रुपैँया भाडा तिर्नमै खर्च हुने गरेको छ ।
दुहुँ गाउँपालिकाले समेत आफ्नै भवन निर्माण गर्न सकेको छैन् । स्थानीयको तीन वटा घर भाडामा लिएर गाउँपालिका कार्यालय सञ्चालनमा छ । सबै कार्यालय एउटै क्षेत्रमा नहुँदा सेवाग्राहीलाई सेवा लिन समस्या छ, गाउँपालिका प्रबक्ता गोबिन्द डडालले भन्नुभयो, आफ्नो भवन नहुँदा कर्मचारीहरु छरिएर बसाल्नुपरेको छ । जग्गादाता नभेटिएको कारण गाउँपालिकाको लागि भवन निर्माण गर्न जग्गा खरिद गर्ने तयारी छ ।
जिल्लामा साविकका गाविस भवन भएका ठाउँ बाहेक नयाँ थपिएका झण्डै दुई दर्जन वडा कार्यालयहरुको समेत आफ्नो भवन छैन् । गाउँघरमा कार्यालय स्थापना गर्न उपयुक्त भवन नपाइने भएकोले दुई, तीन कोठामात्रै भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपरेको महाकाली नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष चक्रसिह बोहराको भनाइ छ ।
नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाले भने पहिलो वर्षमै आफ्नो भवन निर्माण गरेका छन् । चालु आर्थिक बर्षमा नौगाड गाउँपालिकाको भवन निर्माण सम्पन्न भएसंगै आवश्यक बिषयगत शाखाहरु स्थापना गर्न समेत सजिलो भएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउँनुभयो । मार्मा गाउँपालिकाले गत वर्ष भवनको तला थपेको थियो भने कर्मचारी बस्न आवास भवनको समेत व्यवस्थापन गरेको छ ।