सुदूरपहाड : भगवान भरोसामा कष्टपूर्ण यात्रा

सडकको स्तरोन्नति, सामान्य गति र चालकको होसियारी आवश्यक
प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६

दार्चुला । यहाँका ग्रामीण बासिन्दा बर्षौदेखी भगवान भरोसामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पटक पटक ग्रामीण कच्ची सडकदेखी कालोपत्रे भएको राजमार्ग क्षेत्रमा समेत साना ठुला दुर्घटना भइरहन्छन । तर सडक सुधार तथा स्तरोन्नती गर्नेतर्फ स्थानीय, प्रदेश र संघिय सरकार कसैले ध्यान नदिएको दल्लेखबाट खलंगा आएका यात्रु सन्तोष ठगुन्नाले गुनासो गर्नुभयो ।
सदरमुकाम खलंगा जोड्ने महाकाली राजमार्गमा समेत जोखिमपूर्ण सडकका कारण दुर्घटनाको उच्च जोखिम छ । साघुँरो सडकमा, सडकको क्षमता भन्दा ठूला सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको खतरा रहेको चालकहरु नै बताउँछन् । दार्चुलाको ग्रामिण क्षेत्रका आधा दर्जनबढी सडकमा चल्ने जिपहरुदेखी लोकमार्गमा दैनिक चल्ने डिलक्स बसहरु भगवान भरोसामा ओहोरदोहोर हुने गरेको जीप चालक कुमार ठगुन्नाले बताउँनुभयो ।
ट्राफिक प्रहरीको तथ्याङक अनुसार बितेको तीन बर्षमा दर्जनौ दुर्घटना भएका छन् । मानिसको ज्यान जाने गरि भएका ८ ओटा दुर्घटनामा मात्रै २४ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी हरदेब खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७३÷०७४ मा ३ ओटा दुर्घटनामा परी ८ जनाको मृत्यु र १७ जना गम्भीर घाइते भएका थिए । आर्थिक बर्ष २०७४÷०७५ मा तीन ओटा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका थिए ।
चालु आर्थिक बर्षको हालसम्म मात्रै दुइओटा सवारी दुर्घटनामा परी सबै बर्षभन्दा बढी १३ जनाले ज्यान गुमाएका छन् । भने १९ जना यात्रु गम्भीर घाइते भएका छन् । उल्लेखित तथ्याङक दुर्घटना भएपश्चात मानिसको मृत्यु वा गम्भीर घाइते भएर प्रहरीमा मुद्धा दर्ता भएकाहरुको मात्रै रहेको ट्राफिक प्रहरी खत्रीले बताउँनुभयो । उल्लेखीत दुर्घटनाबाहेक दर्जनौ पटक सवारी दुर्घटना भएर मानिसहरु घाइते हुने गरेको उहाँले बताउँनुभयो ।
वैशाख, जेठमा धुलोमाटो र बर्षायाममा कच्ची अनि खाल्डाखुल्डी परेका सडकमा क्षमताभन्दा बढी यात्रु र सामान ओसार्ने गरेका सवारी चालकहरु जोखिम मोलेर सवारी सञ्चालन गर्न बाध्य रहेको अर्का जीपचालक हरक सिह धामीले बताउँनुभयो । सडक सुधार नहुदा जोखिमपूर्ण कष्टप्रद यात्रा गर्नुपरेको यात्रुहरुले गुनासो गर्ने गरेका छन । सडकको स्तरोन्नति नहुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, सडकको क्षमताभन्दा ठुला यातायातका साधनहरु गुडाउँनु र तीब्र गतिका कारण ठाउँठाउँमा दुर्घटना हुने खतरा छ । यात्रुहरुको आग्रह र समस्यालाइ हेरेर कहिलेकाही क्षमताभन्दा बढी यात्रु समेत बोक्ने गरेको चालकहरुको प्रतिक्रिया छ ।
जिल्लाको मार्मा, नौगाड, दुहुँ र जौलजीबि क्षेत्रमा चल्ने जीप रामनाम जप्दै अनुमति समेत नपाएको सडकमा घुइकिने गरेका छन् । पारीबगरदेखी लटिनाथ सम्म होस वा लटिनाथदेखि गन्ना पुग्दासम्म ठाउँठाउँमा जोखिम छ । लेकम क्षेत्रको उकु क्षेत्र, नौगाड गाउँपालिकाका सडकहरुमा चल्ने जिपहरु र दुहु क्षेत्रमा समेत सवारी साधनहरु जोखीम मोलेरै यात्रा गरीरहेका छन् । यसै अवस्थामा सडक गुडाउँने हो भने कुनै दिन ठूलो दुर्घटना हुने खतरा पलपलमा रहेको यात्रु नरेन्द्र जोशीको भनाइ छ ।
महाकाली राजमार्गमा अहिले करिब एक दर्जन फोल्डिङ सिट भएका डिलक्स बस चल्ने गरेका छन । साघुरो सडकका कारण एकले अर्को गाडीलाइ साइड दिन समेत धेरै पछाडि गएर बस रोक्नुपर्ने अवस्था छ । सडक स्तरोन्नतिको नाममा बर्षेनी राजनीतिक मुद्धा बन्ने र अलिअलि पैसापनि खर्च हुदै आएपनि दैनिक सयौ सवारीसाधन आवतजावत गर्ने सडक स्तरोन्नति गर्न कसैले ध्यान दिन सकेको छैन । सडक दुर्घटनाको जोखिम कम गर्न सडकको स्तरोन्नति, सामान्य गति र चालकको होसियारी आवश्यक रहेको यात्रुहरु बताउँछन ।