हरेक स्थानीय तहमा कालोपत्रे सडकः पूर्वाधारका क्षेत्रमा यस्तो छ बजेटको आकार

प्रकाशित मिति : बुधबार, जेष्ठ १५, २०७६

काठमाडौं । सरकारले रेल तथा सडक यातायातका क्षेत्रमा १ खर्व ६३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिडाले रेल तथा जलयातायातका लागि १ खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

सरकारले आगामी आर्थिक वर्षमा मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड बराबरको रकम विनियोजन गरेको छ । त्यस्तै नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब र काठमाडौंको चक्रपथ सडक विस्तारका लागि १ अर्ब ८१ करोड विनियोजन गरेको छ ।

त्यसैगरि वीपी राजमार्गको सुधारका लागि ९६ करोड, फास्ट ट्र्याकका लागि १५ अर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए । खतिवडाले डोल्पा सदरमुकाम यो वर्ष सडक पुर्याउने घोषणा समेत गरेका छन् । त्यसैगरि हुम्लामा अर्को वर्षसम्म सडक पु¥याउने लक्ष्य सरकारले लिएको छ ।

हुलाकी राजमार्ग कालोपत्रे गर्न १३ अर्ब, पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउका १९ अर्ब १८ करोड विनियोजन गरिएको बताउँदै अर्थमन्त्री खतिवडाले दुई छिमेकी मुलुकको ब्यापार सहजीकरण र हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक बनाइने बताए ।

त्यसैगरि ४ वर्षभित्र सबै स्थानीय तहको केन्द्रलाई कालोपत्रे सडकबाट प्रदेश राजधानी जोड्न ५ अर्ब ७ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए । त्यसैगरि काठमाडौमा चक्रपथ बनाउन सरकारले १ अर्ब ८१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।

खतिवडाले बुढीगण्डकी जलविद्युत आयोजना अन्तर्गत सडक मर्मतका लागि पेट्रोल र डिजेल लिटरमै थप १ रुपैयाँ शुल्क लिने जानकारी गराएका छन्। बुढीगण्डकी जलविद्युत आयोजनाका लागि यसअघि प्रति लिटर पाँच रुपैयाँ लिइँदै आएको सरकारले अब एक रुपैयाँ थप्ने जानकारी गराएको हो।

हवाइ क्षेत्रमा हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड विनियोजन गरिएको छ । सरकारले गौतमवुद्ध विमानस्थलका लागि ३ अर्ब ३४ करोड । पोखरा विमानस्थललाई ८ अर्ब विनियोजन गरेको छ । त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट बनाइने र २४ घण्टा सञ्चालन गरिने योजना पनि सरकारले अघि सारेको छ ।

देशका विभिन्न ठाउँमा रहेको विमानस्थलहरुको स्तरोन्नती गर्ने योजना पनि सरकारले अघि सारेको छ । सरकारले धनगढी सुर्खेत र विराटनगरमा सभाहल निर्माणका लागि बजेट विनियोजन गर्ने बताए ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी वर्ष अन्तर्राष्ट्रिय उडान शुरु गरिने भएको छ। अर्थमन्त्री खतिवडाले संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान शुरु गर्ने बताएका हुन् । उनले त्यसका लागि ३ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराए ।

त्यसैगरि तुइन विस्थापित गर्न सरकारले ४ अर्ब विनियोजन गरेको जनाएको छ । केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा नै तुइन विस्थापन गर्ने योजना अघि सारेका थिए ।
त्यसैगरि सरकारले २ वर्षभित्र धरहराको निर्माण सक्ने गरि योजना अघि सारेको छ । २ वर्षभित्र धरहरा निर्माण गरिसक्न सरकारले १ अर्ब विनियोजन गरेको छ ।

सरकारले २ वर्षभित्र जोखिमयुक्त वस्तीमा रहेकालाई सुरक्षित स्थानमा सोर्न योजना पनि अघि सारेको छ । जसका लागि ५० करोड विनियोजन गरेको छ । बाढी पहिरोमा परेकाहरुको घर पुनर्निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ ।

त्यसैगरि जनता आवास कार्यक्रम मार्फत ३० हजार घर बनाउन ४ अर्ब ३० करोड विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताए । उनका अनुसार आगामी वर्ष १८५ नगरपालिकामा व्यवस्थित शहर विकास गरिने भएका छन् ।