चार बर्षसम्म पुलको पिल्लरमात्रै

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६

दार्चुला । महाकाली कोरिडोर अन्तरगत निर्माणाधीन दार्चुला तिंकर सडक खण्डमा पर्ने २ ओटा मोटर पुलको निर्माण कार्य कछुवा गतिमा भइरहेको छ ।
त्रिदेशीय सीमा क्षेत्रसम्म जोड्ने दार्चुला तिंकर सडक खण्ड अन्तरगत जिल्ला सदरमुकाम खलंगा नजिकै लास्कुखोला र निजाङमा मोटरेबल पुल निर्माणको काम चार बर्षदेखी अलपत्र परेको हो । दार्चुलाको समृद्धिको आधारसिला मानिएको तिंकर सडक निर्माणको प्रगति सन्तोषजनक नभएको भन्ने गुनासो आइरहेका बेला उक्त सडक खण्डमा निर्माणाधीन पुलहरुमा प्रगति झन् निराशजनक रहेको स्थानीय चक्र बमले बताउँनुभयो ।
सदरमुकामदेखी चिनको सिमा क्षेत्रसम्म जोड्ने सडकमा निर्माणाधीन दुई ओटै पुलहरुमा निर्माण व्यवसायिको लापरवाहिका कारण लक्ष्य अनुसार प्रगति हुन नसकेको दार्चुला तिंकर सडक योजनाका सूचना अधिकारी दिनेश रैखोलाले बताउँनुभयो । ‘हामीले कार्यालयको तर्फबाट पटकपटक निर्माण कार्यमा ढिलासुस्ती भइरहेको भन्दै ताकेता गर्दा समेत प्रगति नभएपछि ठेकेदारलाइ जरिवाना तिराएर पछिल्लो समय काम भइरहेको सूचना अधिकारी रैखोलाको भनाइ छ ।’ तर समयमै निर्माणको काम नगर्ने ठेकेदारलाइ कारवाही गर्नुको सट्टा पटकपटक म्याद थप गरेर कार्यालयले नै संरक्षण गर्न खोजेको स्थानीयको आरोप छ ।
चार बर्ष पहिलेदेखी निर्माणाधीन पुलको काम समयमै सम्पन्न नहुदा बर्षातको समयमा महाकाली नगरपालिका, दुहुँ र व्यास गाउँपालिकाका स्थानीयलाइ आवतजावतमा समस्या हुनुका साथै दार्चुला तिंकर सडक निर्माणका लागि आबश्यक सामग्रीहरु ढुवानीमा समेत समस्या हुने गरेको छ । उक्त दुई ओटै पुल निर्माणको सम्झौता म्याद दुई बर्ष पहिले सकिएको छ । सम्झौता सकिएर एकपटक थप गरेको म्याद सकिएर पुन म्याद थपको पहल भइरहेको छ । हालसम्म ५० प्रतिषत मात्रै भौतिक प्रगति भएको दुई ओटै पुलमा निर्माण व्यवसायिलाइ १० प्रतिषत हर्जाना तिराएर चालु आर्थिक बर्षभित्र काम सक्न निर्देशन गरिएको महाकाली कोरिडोर आयोजना प्रमुख अच्युत पन्तले बताउँनुभयो ।
२०७२ फागुन २५ गते २ करोड ४६ लाख रुपैँयामा सम्झौता भई निर्माण सुरु गरिएको निजाङ र सोही वर्ष चैत्र १५ गते ४ करोड ५ लाख रुपैँयामा सम्झौता गरिएको लास्कु खोला पुलको निर्माण कार्य हालसम्म सकिएको छैन । नजाङ पुल २०७४ जेठ ४ गते निर्माण सम्पन्न गरिनुपर्ने थियो भने लास्कु खोला पुल २०७४ असार १४ गते नै पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । तर उक्त सम्झौता अनुसार पुल निर्माण हुन नसक्दा विकास निर्माण प्रभावित भएको छ । लास्कु खोलाको पुल निर्माणको जिम्मेवारी राजेन्द्र, देवसिँह र मालिकार्जुन निर्माण सेवाले पाएको थियो । निजाङ खोलाको पुल निर्माणको जिम्मेवारी राजेन्द्र निर्माण सेवा र मालिकार्जुन निर्माण सेवाले पाएको आयोजनाले जनाएको छ ।