दार्चुला : यार्सा टिप्नेलाई १० लाखको दुर्घटना बीमा

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६

दार्चुला । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले पहिलो पटक यार्सा पाटनमा जाने संकलकहरूका लागि दुर्घटना बीमाको सुविधा दिन लागेको छ ।
यार्सा पाटनमा विभिन्न दुर्घटनाका कारण वर्षेनी यार्सा संकलक तथा अन्य नागरिकको समेत ज्यान जाने गरेको घटनालाई मध्यनजर गर्दै यो बर्षदेखी १० लाखसम्मको दुर्घटना बीमा सुविधा दिइएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले जानकारी दिनुभयो ।
वर्षेनी हिउँ पहिरोमा परी, भीरबाट लडेर, नदीमा बगेर तथा लडाई झगडाका कारण पनि यार्सा पाटनमा कतिपयको ज्यान जाने गरेकाले बीमा सुविधा ल्याइएको संरक्षण अधिकृत मेहताको भनाइ छ । यार्सा पाटनमा गई दुर्घटना परेर मृत्यु हुने यार्सा संकलक, सुरक्षाकर्मी, संरक्षण क्षेत्र कार्यालय तथा पोष्टका कर्मचारी, व्यवस्थापन परिषद् पदाधिकारी, एक जना पत्रकार गरी जम्मा २० जनाको १० लाखका दरले बीमा सुविधा संरक्षण क्षेत्रले लागू गर्ने उहाँले बताउँनुभयो ।
यार्सा संकलनका लागि दार्चुला जिल्लाका यार्सा पाटनहरू जेठ १४ गते बाट खुल्ला गरिएका छन् । यार्सागुम्बा संकलन, व्यवस्थापन तथा ओसारपसार निर्देशिका २०७३ बमोजिम जेठ दोस्रो सातादेखि यार्सा पाटनहरू खुल्ला गर्न सकिने व्यवस्था अनुसार सबै पाटनहरू यार्सा संकलनका लागि खुल्ला गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी राजु घिमिरेले जानकारी दिनुभयो ।
अपिनाम्पा संरक्षण क्षेत्रभित्र रहेका यार्सा पाइने पाटनहरू खोलिएसँगै यी संरक्षण क्षेत्र अन्तर्गतगका पोष्टहरूबाट यार्सा संकलन अनुमति पत्र अर्थात् परिचय पत्र वितरण कार्य पनि भइरहेको छ । बैशाख २५ गतेदेखि जिल्लाका झण्डै दर्जन पोष्ट तथा अस्थायी पोष्टबाट यार्सा संकलन परिचय पत्र वितरण भइरहेको छ । यार्सा पाटनहरूमा यार्सा संकलनका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला, मार्मा क्षेत्रको बिटुले रेञ्ज पोष्ट, गुल्जर, खण्डेश्वरी तथा लटिनाथमा अस्थायी पोष्ट राखेर परिचय पत्र वितरण भइरहेको छ भने सिप्टी तथा खार पोष्टबाट परिचय पत्र वितरण भइरहेको छ । चाइमटेलामा अस्थायी पोष्ट राखेर परिचय पत्र वितरण भइरहेको सूचना अधिकारी घिमिरेले बताउनुभयो । यस्तै दुहूँ तथा व्याँस क्षेत्रका लागि श्रीबगड पोष्ट, सुन्सेरा, दुम्लिङ र व्याँस पोष्टबाट वितरण कार्य भइरहेको छ । दोपाखे भन्ने स्थानमा पनि अस्थायी पोष्ट राखेर स्थापना गरिने छ भने तुसरपानी क्षेत्रमा पनि अस्थायी पोष्ट राख्ने तयारी भइरहेको सुन्सेरा रेञ्ज पोष्टका सिनियर गेमस्काउट मानसिँह महराले बताउनुभयो ।
हालसम्म झण्डै २ हजारको हाराहारीमा यार्सा संकलन परिचय पत्र वितरण भइसकेको अपिनाम्पा संरक्षण कार्यालय दार्चुलाले जनाएको छ । ९० प्रतिशत जति अहिले जिल्लाभित्र तथा संरक्षण क्षेत्र भित्रकै रहेकाले झण्डै १० को हाराहारीमा राजस्व संकलन भएको छ । ती मध्ये कतिपय जिल्ला बाहिर र संरक्षण क्षेत्र बाहिरका समेत रहेकाले १० लाख भन्दा बढी राजस्व संकलन भएको हुनसक्ने सूचना अधिकारी घिमिरेको भनाइ छ ।
विभिन्न यार्सा पाटनहरूबाट यो वर्ष झण्डै पाचँ सय किलोग्रामको हाराहारीमा यार्सा संकलन हुने अनुनमान गरिएको छ । गत आर्थिक बर्षमा ५ सय ५० किलोग्राम यार्सा निकासी भएकाले यो वर्ष पनि झण्डै सोही हाराहारीमा यार्सा संकलन हुने अनुमान गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । गत वर्षमा झण्डै ८५० किलोग्राम यार्सा संकलन गरिएको भए पनि कतिपय यार्सा संकलक तथा व्यापारीसँगै रहेकाले अझै संकलन भएको यार्सा परीमाणमा थप हुने अनुमान गरिएको छ ।