सुरक्षा अधिकारीहरुले गरे त्रिदेशीय सिमाक्षेत्रकाे निरीक्षण

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६

दार्चुला । दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुले शुक्रबार त्रिदेशीय सिमा क्षेत्रको अनुगमन निरीक्षण गरेका छन् ।
नेपाली सेनाको हेलीकप्टरमार्फत प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, नेपाली सेनाका निमित्त गुल्मपती खड्कधोज कार्की, नेपाल प्रहरीका डिएसी दिपेन्द्र शाही, सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपती भिम बहादुर चन्द, राष्ट्रिय अनुसन्धान अधिकृत हिरण्य कुवँर लगायत सुरक्षा अधिकारीहरुको टोलीले त्रिदेशीय सीमा क्षेत्र छाङ्गरुको स‌ंयुक्तरुपमा पहिलोपटक निरीक्षण गरेका हुन् ।
गर्मीयाम शुरु भएसंगै नेपाल प्रहरी छाङ्गरु पुर्याउन र सिमा सुरक्षाको वर्तमान अवस्था, प्रस्तावित सशस्त्र प्रहरी बलको बिओपी स्थापना गर्ने स्थानको स्थलगत निरीक्षण गर्नका लागि समेत सिमा क्षेत्रमा सुरक्षा टोली गएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले बताउँनुभयो । सुरक्षा संबेदनसिलताको हिसाबले महत्तपुर्ण नेपाल, भारत र चीनको सिमा व्यासमा बसोबास गर्ने स्थानीयका समस्याहरु सुन्ने र सिमाको बिषयमा जानकारी लिनका लागि अनुगमन गरिएको प्रजिअ बिष्टको भनाइ छ ।
छ महिना मात्रै सुरक्षा उपस्थिति हुने ब्यास क्षेत्रमा मंसीर महिनामा दुम्लीङ्ग झरेको प्रहरी चाैकी छाङ्गरु उक्लीएको छ । हिमपातको समयमा मानबबस्ती बिहिन हुने ब्यास क्षेत्रको सुरक्षार्थ आवश्यक बन्दोबस्तीका सामान र भौतीक पुर्वाधारको व्यवस्थापन सहित नेपाल सरकारले सशस्त्र प्रहरीको सिमा सुरक्षा पोष्ट राख्ने तयारी गरेको छ । सामरीक महत्तको सिमा क्षेत्रमा सुरक्षाा  पाेष्ट राख्न ढिलाइ भइरहेकाेले छिटो सुरक्षा व्यवस्थापन गर्न व्यासबासीले पटकपटक सरकारसंग माग गर्दै आएका छन् । सुरक्षा अधिकारीहरुले सिमाक्षेत्रसंगै सशस्त्रकाे प्रस्तावित बिअाेपी निर्माण हुने जमीन, सितापुल प्रहरी चाैकी, अपि नाम्पा संरक्षण क्षेत्रकाे पाेष्ट, स्याउँ उत्पादक कृषक  जितसिह बाेहराकाे स्याउँबारी र गागा रेस्टुडेन्टकाे समेत निरीक्षण गरेकाे जनाएका छन् ।
नेपाल, भारत र चीनको सिमाक्षेत्र व्यासको निरीक्षण गर्दै दार्चुलाका सुरक्षा अधिकारीहरु