प्रहरीकै विरूद्ध वन्यजन्तु चोरी शिकारीको मुद्धा

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६

दार्चुला । जिल्ला अदालत दार्चुलामा एक जना प्रहरी जवानमाथि वन्यजन्तु चोरी शिकारी सम्बन्धी मुद्धा दायर भएको छ ।
सुदूरपश्चिम प्रहरी गण नम्बर ३ गुल्म, धनगढी दरबन्दी भइ कारागार सुरक्षा गार्डका रुपमा कार्यरत दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ का सिकेन्द्रसिंह धामी विरुद्ध वन्यजन्तु चोरी शिकारी गरेको अभियोगमा मुद्धा दायर भएको हो ।
गत वैशाख ८ गते नेपाल भारत सिमा क्षेत्र पुलघाँटमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लक्ष्मणदत्त भट्ट नेतृत्वको प्रहरी टोलीले धामीलाई २ किलो ६ सय ५० ग्राम सुकुटी मासु भारतको धारचुलाबाट खलंगा ल्याउदै गर्दा मासुसहित पक्राउ गरेको थियो । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार ललितपुरले उक्त सुकुटी मासु झालरको भएको पुष्टि गरेपछि धामी बिरुद्ध डिभिजन वन कार्यालय दार्चुलाले जिल्ला अदालतमा मुद्धा दायर गरेको डिभिजन बन कार्यालय दार्चुलाका सूचना अधिकारी रणेन्द्र सिंहले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय दार्चुलाले राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ को दफा २६ (६) बमोजिम मुद्धा दायर गरेको सूचना अधिकारी सिंहले बताउँनुभयो ।-अनलाइनखबर