बृद्ध दम्पती हत्या प्रकरण : अलमलमा अनुसन्धान

तालिम प्राप्त कुकुरले पनि भेटेन अपराधी
प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६

दार्चुला । महाकाली नगरपालिका ३ जाखगाउँमा जेठ ११ गते वृद्ध दम्पतीको बिभत्स तरिकाले हत्या भएको एक हप्ता बढी समय बितेपनि घटनामा प्रहरी अनुसन्धानले नतिजामुखी परिणाम देखाउन सकेको छैन् ।
दार्चुलामा पहिलोपटक धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धानमा प्रयोग गर्दा समेत घट्नाको ठोस जानकारी पत्ता लगाउँन सकिएको छैन् । उक्त घटनाको विभिन्न कोणबाट अध्ययन गर्ने काम भइरहेको दार्चुलाका जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीको भनाइ छ ।
घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमसिंह खड्काको नेतृत्वमा नौँ जना प्रहरीको टोली परिचालन गरिएको डिएसपी शाहीले जानकारी दिनुभयो । अहिलेसम्म घट्नाका शंकास्पद व्यक्तिहरूलाइ सोधपुछ गर्ने र उनिहरुको टेलिफोन नम्बर लिएर कल रेकर्ड जाच्ने लगायतको काम भएको उहाँले बताउँनुभयो । घटनास्थलमा चिर्पटबाहेक कुनै पनि शंकास्पद वस्तु फेला नपरेकाले अनुसन्धानमा कठिनाइ भएको प्रहरी अधिकारीहरुको भनाइ छ ।
एका बिहाँनै घट्नाबारे जानकारी भएपछि बृद्धा द्रौपती महराको घटनास्थलमै मृत्यु भइसकेको थियो भने दार्चुला जिल्ला अस्पतालमा र्पुयाएपछि बृद्ध वीरमान महराले पनि प्राण त्याग गरे । कुटपिटमा परी घाइते भएका वृद्ध दम्पतीका नाती लोकेश महराको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घट्नाका गम्भीर घाइते लोकेश महरा आत्तिएको अवस्थामा रहेको र अस्पतालमा अपचार भइरहेकोले धेरै बताउँन सक्ने अवस्थामा नरहेको पारिवारीक श्रोतले जनाएको छ । गम्भीर घाइते महराका अनुसार एक जना ब्याक्तिले मात्रै चिर्पटले हिर्काएर हत्या गरेको बताएपनि प्रहरीले एक जनाभन्दा बढी मानिसको घट्नामा संलग्नता हुनसक्ने आशंका गरेको छ ।
जेठ ११ गते राति करिब १० बजेतिर बांगाबगडबाट तीनजना युवा काँटैतिर लागेको बांगाबगडका स्थानीयले बताएको र घटनास्थलबाट प्रहरीले तीन गिलास र मदिराको एक खाली बोतलसमेत बरामद गरेकोले घट्नामा कम्तीमा तीन जनाको संलग्नता रहेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख शाहीले बताउँनुभयो ।
घट्नाको अनुसन्धान गर्न जिल्लामै पहिलोपटक तालिम प्राप्त कुकुरको प्रयोग गरिएको भएपनि अपेक्षित नतिजा हासिल हुन सकेको छैन् । घटनाको अनुसन्धानमा कुकुर प्रयोगमा ढिलाइ भएकाले अनुसन्धानबाट सोचेजस्तो नतिजा हासिल हुन नसकेको प्रहरीको भनाइ छ ।
धनगढीबाट मगाउनुपरेकोले कुकुर घटनास्थलमा ढिला पुगेको र मुख्य सडकको छेउमा घटनास्थल भएकाले घटनामा संलग्नहरूको गन्धमा समेत ह्रास आएको तथा घटनास्थलमा आक्रमणकारीको कुनै वस्तु नभेटिएकाले अनुसन्धानमा ढिलाइ भएको प्रहरी अधिकारीहरुको प्रतिक्रिर्या रहेको छ । पिडित परिवारले भने प्रहरीले समयमै सत्य तथ्य अनुसन्धान गर्न नसकेको भन्दै आक्रोस व्यक्त गरिरहेका छन् ।
तस्बिर ः फेसबुकबाट