दार्चुलाका प्रिन्स पिपुल च्वाइस अवार्डका लागि मनोनित

प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६

दार्चुला । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने बजाज पल्सर स्पोर्टस् अवार्ड पिपुल्स च्वाइस अवार्ड विधाका खेलाडीहरु सार्वजनिक गरेको छ ।

आइतबार आयोजक एनएसजेएफले पिपुल च्वाइस अवार्डका लागि वर्षका चर्चित पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । अवार्डका लागि क्रिकेटका सन्दीप लामिछाने, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनित हुने खेलाडीहरुमा परेका छन् ।

मनोनयनमा परेका खेलाडीको छनोट एसएमएस भोटिङ र फेसबुक लाइकको मतभार ५० प्रतिशत, ५० प्रतिसत एनएसजेएफका पत्रकारको भोट र संघका मुख्य प्रशिक्षकको मतको आधारमा गनिने छ । एसएमएसबाट खेलाडीलाई भोटिङ गर्न म्यासेज बक्समा गएर पल्सर टाइप गरेर एक स्पेस छाड्ने र खेलाडीको कोड नाम टाइप गरेर ३७७२२ मा पठाउन सकिनेछ ।

प्रिन्स दहालका लागि Pulsar <space> PD लेखेर ३७७२२ मा पठाउन सकिने छ ।

यसअघि ९ विधामा अवार्ड प्रदान गरिँदै आएपनि यसपटक इन्टरनेशनल एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड थप गरिएको हो । विगतका वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी पुराना खेलाडी, प्रशिक्षक र पुराना खेलकुदकर्मीलाई अवार्ड उपलब्ध गराइने छ ।

वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुष, प्रशिक्षक र पिपल्स च्वाइसको विजेताले बजाज मोटरसाइकल पुरस्कार पाउनेछन् । अन्य विधाका विजेतालाई ५० हजार पुरस्कार प्रदान गरिनेछ । विजेताको घोषणा आगामी असार १७ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा गरिनेछ ।