दार्चुलामा खलो प्रथा कायमै

प्रकाशित मिति : शनिबार, असार ७, २०७६

दार्चुला । लेकम गाउँपालिका लगायत दार्चुलाको अधिकासं स्थानीय तहमा काम गरेवाफत पाउने खलो प्रथा अझै हटेको छैन् ।
लेकम १ सर्मोली ग्वालीखेतका स्थानीय दलित (लावड) परिवारहरू न्यून ज्यालामा मालिकको कृषि औजार निर्माण गर्दै आएका छन् । त्यसबापत उनीहरूले मालिकको इच्छाअनुसार एक वर्षमा २ पटक पाउने थोरै अन्नपातबाट गुजारा चलाउनुपर्ने बाध्यता छ ।
लेकम २ गराडीका अधिकांश विपन्न दलित (दमाइ र भुल परिवार) सँग लुगा सिलाउने, कृषि औजार निर्माण गर्ने, छालाको काम गर्ने सीप छ । सीप भएका दलित परिवार गैरदलित परिवारहरूको काम गरेवाफत अन्न मागेर गुजारा गर्दै आएका छन् । सुदूरपश्चिममा वर्षभरि काम गरेबापत वर्षको २ पटक पाउने अन्नपातलाई खलो भन्ने प्रचलन छ ।
खलोबाट गुजारा चलाउँदै आएका गाउँका थुप्रै दलित परिवारमध्ये लावड परिवार फलाम पिटेर दैनिक कुटो, कोदालो, बञ्चरो, हँसिया लगायतका कृषि औजार बनाउँदै जीविकोपार्जन गर्दै आएका छन् । ‘सर्मोलीका नेबधर लावडले भन्नुभयो, बर्षभरी सर्मोली, मैखोली लगायत गाउँका गैरदलितहरुको कृषि औजार बनाएबाफत जेठ असार महिनामा गहुँ र असोज, कार्तीक महिनामा मकै, धान लगायत खाद्यान्न र नुन, दाल मागेर गुजारा गर्दै आएका छौ ।’
आफ्नो जग्गाको उत्पादनले ३ महिना समेत खान पुग्दैन, स्थानीय लावडले भन्नुभयो, सरकारले दलितलाई धेरै अधिकार दिएको भने पनि आरनमा नबसी आफ्नो घरको चुल्हो नबल्ने स्थिति रहेको छ । लावड परिवारले अन्न भित्याउने समयमा गैरदलितको गाउँघरमा डुलेर बर्षभरीका लागि खाद्यान्न जोहो गर्दै आएका छन् ।
रोजगारीको विकल्प नभएका दलितहरूले अहिले पनि पूर्णरूपमा मालिकले दिएकै खलोको भरमा जीविका चलाउनुपरेको राजु लावडले बताउँनुभयो । ‘खान लाउन दिनभरी आगोमा तताएर फलाम पिट्ने काम गर्नुपर्छ, उहाँले भन्नुभयो, काम गर्ने मन छैन भने जबरजस्ती त गर्दैनन तर पेटको लागि भएपनि सस्तो मुल्यमा काम गर्न बाध्य छौ ।’
लेकम गाउँपालिकाको बिभिन्न गाउँका एक सय बढी दलित परिवारले गैरदलितको काम गरेवाफत खलो मागेर जीविकोपार्जन गर्दै आएका छन् । पछिल्लो समय गाउँपालिकाले समेत बिभिन्न औजारहरु सहयोग गर्ने, सीप विकासका तालिमहरु सञ्चालन गर्ने लगायतको सहयोग गर्दै आएको छ । तर व्यवसायमा आधुनिकिकरण हुन नसक्दा वालवालिकादेखी बृद्धबृद्धाहरु समेत दिनभरी घनले फलाम पिटेर कृषि औजार बनाउँने, छालाको काम गर्ने र कपडा सिलाउने काममा लाग्ने गरेका छन् ।
सरकारले हलिया, खलियाप्रथाको अन्त्य गरेको घोषणा गरे पनि यहाँका अधिकासं दलित परिवारले खलो प्रथामै काम गर्नुपरेको गुनासो सुनाएका छन् । पुख्र्यौली पेसाको रुपमा रहेको खलोप्रथाको सट्टा जनचेतना बृद्धिसंगै काम गरेवाफत पैसा ज्याला माग्ने चलन समेत बढ्दै गएको लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउँनुभयो ।